काठमाडौं । इन्डो-नेपाल रनिङ शिल्ड भलिबल च्याम्पियनशिपको उपाधि त्रिभुवन आर्मी क्लबले हात पारेको छ । नेपाल पुलिस क्लबलाई ३-२ को सेटले पराजित गर्दै आर्मीले उपाधि चुमेको हो ।
बुटवलको रामनगर खेल मैदानमा आज भएको उपाधि भिडन्त खेलमा आर्मीले दोस्रो सेटमा २५-१८, चौथो सेटमा २५-२२ र पाँचौं सेटमा १५-७ ले जित हात पार्दै उपाधि उचालेको हो । पुलिसले पहिलो सेटमा २५-१८ र तेस्रो सेटमा २५-२० जित निकालेको थियो ।
जीतसँगै आर्मीले ७ लाख र उपविजेता बनेको पुलिसले ३ लाख ५० हजार रुपैयाँ पुरस्कार हात पारेको छ । यस्तै तेस्रो भएको मणिमुकुन्द भलिबल क्लबले १ लाख ७५ हजार र चौथो भएको भारतको गुजरात स्टेट भलिबल एसोसिएशनले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।
प्रतियोगितामा आर्मी, पुलिस, मणिमुकुन्द र गुजरातसहित, सशस्त्र प्रहरी बलको एपीएफ क्लब, रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र, बाग्लुङको गलकोट भलिबल क्लब र आयोजक मदन भण्डारी स्पोट्र्स एकेडेमी गरी आठ वटा टोलीले सहभागिता जनाएका थिए ।













