महसुल नतिरेपछि कांग्रेस संसदीय दल र भूमिगत जलस्रोतको लाइन काटियो

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत महसुल समयमा नतिरेपछि नेपाली कांग्रेस संसदीय दलको विद्युतको लाइन काटि दिएको छ ।

बक्यौता रकम हेरी सिंहदरबारस्थित संसद सचिवालयका नाममा रहेको मिटरको लाइन काट्दा कांग्रेस संसदीय दलको परेको प्राधिकरणका अधिकारीले जानकारी दिएका नेपाल खबरले उल्लेख गरेको छ । ती अधिकारीका अनुसार, संसद सचिवालयका नाममा ६३ हजार ४ सय रुपैयाँ बक्यौता रहेको र त्यसमा २५ प्रतिशत जरिवाना पनि थप लाग्ने अवस्था छ ।

यस्तै भूमिगत जलस्रोत विकास समितिको बबरमहलस्थित भवनमा पनि विद्युतको लाइन काटिएको छ । २० हजार रूपैयाँ बक्यौता रहेको उक्त  भवनको लाइन काट्दा काठमाडौँ जिल्ला अदालतका केही इजलास पनि प्रभावित भएका छन् ।

यस्तै केन्द्रीय कारागारले २१ महिनादेखि विद्युतको महसुल नतिरेपछि काटिसकिएको लाइन पनि विभिन्न सरकारी निकायको दबाबमा जोडिएको छ ।

उक्त कारागारको बक्यौता २ करोड ६८ लाख रहेको प्राधिकरणले बताएको छ । त्यहीँ रहेको महिलाहरू बस्ने कारागारले ७ महिनादेखि नतिरेको बक्यौता १३ लाख १९ हजार रहेको पनि प्राधिकरणले जनाएको छ ।

Share