लागूऔषधसहित धनगढीबाट पाँच जना पक्राउ

कैलाली । कैलालीको धनगढीबाट प्रहरीले लागूऔषधसहित पाँच जना युवाहरुलाई पक्राउ गरेको छ ।

जिल्लाको धनगढी उपमहानगरपालिका–१ शिवनगरबाट सोही ठाउँका १९ वर्षीय सुरज थापालाई ५० मिलिग्राम लागूऔषधसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

धनगढी उपमहानगरपालिका-९ बङग्राकटानबाट सोही ठाउँका २६ वर्षीय डम्बर ठगुन्ना १३० मिलिग्राम लागूऔषधसहित पक्राउ परेका छन् । यसैगरी धनगढी उपमहानगरपालिका-९ वडा कार्यालय नजिकबाट कञ्चनपुरको भीमदत्त नगरपालिका-१० का २६ वर्षीय तपेन्द्र पालीसहित ३ जना पक्राउ परेका छन् ।

पालीले चलाएको सुदूरपश्चिम प्रदेश ०२-००३ प ५२०६ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा पालीसहित मोटरसाइकल पछाडि सवार धनगढी उपमहानगरपालिका-९ का २५ वर्षीय महेश ओड र धनगढी उपमहानगरपालिका-१८ का २७ वर्षीय नवल बोहरा पक्राउ परेका छन् ।

यी तीनै जनाको साथबाट १ ग्राम ९१० मिलिग्राम खैरो हेरोइन र मोटरसाईकलसहित तिनै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

Share