कञ्चनपुर । एक सातादेखि निरन्तर रुपमा शीतलहर चलेपछि कञ्चनपुर जिल्लाका स्थानीय तहहरुले विद्यालयहरु केही दिनका लागि बन्द गरेका छन् ।
शीतलहरका कारण अत्याधिक चिसो बढेपछि शुक्लाफाँटा नगरपालिका, पुनर्वास नगरपालिका र कृष्णपुर नगरपालिकाले विद्यालयमा बन्द गरेका छन् । चिसोले विद्यालयको पठनपाठन प्रभावित हुनुका साथै विद्यार्थीको स्वास्थ्य अवस्थामा प्रतिकूल असर पर्न थालेपछि विद्यालयमा बन्द गरिएको शुक्लाफाँटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले बताएका छन् ।
उनका अनुसार नगर क्षेत्रका सामुदायिक र संस्थागत विद्यालयमा यही पुस २५ गतेदेखि पुस २८ गतेसम्मका लागि विद्यालय बन्द गरिएको छ । कृष्णपुर नगरपालिकाले जाडो बिदाबाट मिलान हुने गरी विद्यालयमा पुस २३ गतेदेखि २८ गतेसम्म बन्द गरिएको जनाएको छ ।












