बाजुरा । बाजुरा जिल्लामा अबदेखि नुन किन्न वडाको सिफारिस अनिवार्य रुपमा चाहिने भएको छ ।जिल्लामा आवश्यक भन्दा बढी नुन प्रयोग हुन थालेपछि नागरिकहरुलाई वडाको सिफारिस अनिवार्य गरिएको जनाएमको छ ।
यसअघि नागरिकताका आधारमा सहुलियतको नुन उपलब्ध गराउने गरिएकोमा सो नुन जिल्लाबाहिर पठाउने गरिएको पाईएपछि अब वडाको सिफारिस लिन थालिएको साल्ट ट्रेडिङ बाजुराका कार्यालय प्रमुख टेक बोहराले जानकारी दिएका छन् ।
बोहराका अनुसार नुन धेरै मात्रामा खपत हुन थालेपछि जिल्ला प्रशासन कार्यालयको मातहतमा सर्वपक्षीय बैठक बसेर २०८१ मङ्सिरदेखि नुन लिन वडा कार्यालयको सिफारिस अनिवार्य गरिएको हो ।
बाजुराको मार्तडी, कोल्टी, मौरै, कवाडी नुन डिपो र डोगडी, गौमूल, धुलाचौर र बेर्मा अस्थायी वितरण केन्द्रबाट सहुलियतको नुन वितरण भइरहेको छ ।
नेपाल सरकार जनस्वास्थ्य मन्त्रालयमार्फत सरकारद्वारा घोषित दुर्गम तथा पिछडिएका जिल्ला बाजुरा, अछाम, बझाङ, हुम्ला, मुगु, कालीकोट, डोल्पा, जुम्ला र जाजरकोटमा सहुलियतमा प्रतिकेजी नौ रुपैयाँका दरले नुन बिक्री हुने गरेको छ । तर उक्त नुनको मूल्य बजारमा २५ रुपैयाँ कायम गरिएको छ ।












