शक्तिशाली भूकम्पमा परी तिब्बत क्षेत्रमा ९५ जनाको मृत्यु, १ सय ३० जना घाइते, सयौँ घरमा क्षति

तस्बिर : रोयटर्स

कैलाली । मंगलबार विहान चीनसहित नेपाल, भारत र भुटानका विभिन्न स्थानमा धक्का अनुभव गरिएको शक्तिशाली भूकम्पका कारण चीनको तिब्बत क्षेत्रमा कम्तीमा ९५ जनाको मृत्यु भएको र सयौँ घरहरू भत्किएको विवरण चिनियाँ अधिकारीहरूले बताएका बीबीसीले उल्लेख गरेको छ ।

चिनियाँ निकायहरूका अनुसार नेपाल-चीन सीमामा अवस्थित सगरमाथा क्षेत्रनजिकै केन्द्रबिन्दु बनाएर गएको उक्त भूकम्पछि कैयौँ परकम्पहरू मापन गरिएको बीबीसीले जनाएको छ ।

नेपालको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार चीनमा ७ म्याग्निट्यूड मापन गरिएको उक्त भूकम्पको क्षमता नेपालमा ५.३ म्याग्निट्यूड रहेको थियो । नेपालबाट भूकम्पको केन्द्रबिन्दु औसत दूरी ९० किलोमिटर रहेको पनि बताइएको छ । चिनियाँ निकायहरूले भने उक्त भूकम्पको म्याग्निट्यूड ६.८ भएको जनाएका बीबीसीले उल्लेख गरेको छ ।

बीबीसीका अनुसार भूकम्प गएपछि तिब्बतको शिगात्से सहरमा सयौँ भवनहरू भत्किएका र १ सय ३० जना घाइते भएको पुष्टि चिनियाँ अधिकारीहरूले पुष्टि गरेका छन् । उक्त क्षेत्रमा विद्युत् र जल वितरण प्रणाली अवरुद्ध भएको छ । शिगात्से तिब्बती बौद्ध धर्मगुरु पन्चेन लामा बस्ने धार्मिक केन्द्र हो । उनी तिब्बती बुद्ध धर्मका एक महत्त्वपूर्ण व्यक्तित्व हुन् ।

चिनियाँ सेनाले उद्धार प्रयास सुरु गरेको र मानवरहित ड्रोनलाई सगरमाथानजिकै अवस्थित दुर्गम क्षेत्रमा परिचालित गरेको जनाएको छ ।
चिनियाँ राष्ट्रपति सी जिन्पिङले क्षति कम गर्नका लागि पूर्ण स्तरको खोज र उद्धार प्रयास अनि प्रभावितहरूको पुनर्वासका लागि आह्वान गरेका पनि बीबीसीले उल्लेख गरेको छ ।

नेपालमा भूकम्पका कारण ओखलढुङ्गा, सोलुखुम्बु र सङ्खुवासभामा केही घरमा क्षति पुगेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

Share