काठमाडौं । मंगलबार बिहान चीन केन्द्रबिन्दु भएर नेपालसहित तीन देशमा एकसाथ भूकम्प गएको छ।
आज बिहान ६ बजेर ५० मिनेट जाँदा नेपालमा ५.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले जानकारी दिएका छन् ।
‘हाम्रो स्थानीय मापनअनुसार नेपालमा ५.३ म्याग्निच्युडको भूकम्प गएको हो’, उनले सञ्चार माध्यमसँग भने ।
भूकम्पको केन्द्रबिन्दु भने चीनको सिजाङ स्वायत्त क्षेत्रको सिगात्से सहरको डिङ्ग्री काउन्टीनजिक रहेको चाइना भूकम्प नेटवर्क सेन्टर (सीईएनसी) ले जनाएको छ। त्यहाँ भने ७ म्याग्नीच्युडको भूकम्प गएको उल्लेख छ।
यस्तै भूकम्पको धक्का भारतमा पनि महसुस भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारतीय सञ्चार माध्यमले दिल्ली, बिहार र बंगालमा ७.१ म्याग्निच्युडको भूकम्प गएको उल्लेख गरेका छन् ।
नेपालमा काठमाडौं र आसपाससहित विशेषगरी मध्य र पूर्वी पहाडी क्षेत्रमा भूकम्प गएको भूकपम्पविद् डा. अधिकारीको भनाइ छ।
अधिकारीका अनुसार एकसाथ भूकम्प गए पनि देश र ठाउँअनुसार समय र म्याग्निच्युड फरक-फरक हुन्छ।












