पूर्वमाओवादी भनेर अपमानित गरेको भन्दै लेखराज भट्टको क्षेत्रका ४६ संगठित कार्यकर्ताले छोडे एमाले

कैलाली । कैलालीको गोदावरी नगर कमिटीका ४६ जना सङ्गठित सदस्यहरूले एमाले परित्याग गरेका छन् । आफूहरु पार्टीभित्र रहँदा पटक अपमानित हुनुपरेको र पूर्व माओवादीको ट्याग आफूले खेपी रहनु परेको भन्दै सामूहिक राजीनामा दिएका हुन्

२०७४ को निर्वाचनपछि नेकपा माओवादी र नेकपा एमाले मिलेर नेकपा पार्टी भएको थियो । तर आन्तरिक कारणले नेकपा विभाजन भएपश्चात सर्वोच्च अदालतले नेकपालाई नै खारेज गरिदिएको थियो । त्यसपश्चात एमाले-माओवादी पुरानै अवस्थामा आएका थिए । उक्त समयमा नेकपा एमालेलाई साथ दिएका गोदावरी नगर कमिटीका ४६ जनाले हाल आएर सामूहिक राजीनामा दिएका हुन् ।

नगर कमिटीका अध्यक्षलाई राजीनामा पत्र लेख्दै उनीहरूले त्यसमा उल्लेख गरेका छन्, ‘यहाँभित्र एमाले भएर बस्दा पनि हामीले पटक-पटक अपमानित हुनुपर्ने, राजनीतिको रूपमा पूर्वमाओवादी भनेर अपहेलित हुनुपर्ने, मूल नेतृत्वकै विरुद्ध तलैसम्म गुटबन्दी गर्ने परम्पराभित्र अब बस्न सकिन्न भन्ने निष्कर्षमा हामी पुगेकै हो ।’

साथै उनीहरूले हाल एमालेको नेतृत्व नेतृत्वपंक्ति अझ भन्दा महासचिव शंकरपोखरेल लगायतका केही नेताहरुले ‘जनयुद्ध’का बारेमा लगातार प्रहार गरेको भन्दै त्यसमा पनि असहमति जनाएका छन् । उनीहरूको राजीनामा पत्रमा यही ११ पुसको मिति उल्लेख गरिएको छ ।