डोटी । पछिल्ला वर्षहरुमा डोटी जिल्ला विभिन्न स्थानीय तहका युवाहरु व्यावसायिकतातिर ढल्किरहेका छन् । सुन्तला, अदुवा, तरकारी लगायतका खेतीमा युवाहरुको आकर्षण बढ्दो छ । त्यस्तैमा मौरी पालनतिर पनि त्यहाँका स्थानीयको आकर्षण बढी रहेको छ ।
कृषि ज्ञान केन्द्र डोटीका अनुसार आर्थिक वर्ष २०७८/७९ मा ८ सय मौरीका घारमा ५ हजार ५ सय केजी मह उत्पादन भएको थियो । उक्त परिमाण बढेर आर्थिक वर्ष २०७९/८० मा ३ हजार ६ सय घारबाट १८ हजार किलो मह उत्पादन भएको थियो । सो परिमाण अझै बढेर आर्थिक वर्ष २०८०/८१ मा ३ हजार ६ सय ८० घारबाट २१ हजार ३ सय ४४ किलो मह उत्पादन भएको छ ।
सरकारी तथा गैरसकारी क्षेत्रबाट मौरी पालनका लागि किसानलाई विभिन्न प्रविधिलगायत ज्ञान, सिपमा सहयोग हुँदै आएको छ । आधुनिक घारभन्दा पनि परम्परागत काठेघारलाई सुधार गरेर मौरी पालन गर्दा मह उत्पादनमा राम्रो हुने गरेको कृषि ज्ञान केन्द्र डोटीका निमित्त कार्यालय प्रमुख गङ्गादत्त अवस्थीले बताए । ‘डोटीका अधिकांश ग्रामीण क्षेत्र सडक सञ्जालसँग जोडिएका कारण पनि यहाँ उत्पादन भएको मह बिक्रीका लागि समस्या छैन्,’ निमित्त कार्यालय प्रमुख अवस्थीले भने, ‘मह उत्पादन गर्ने कृषकलाई तालिमलगायत अनुदान पनि थप हुँदै गएका कारण किसानको यसतर्फ आकर्षण बढेको हो ।’
डोटीमा प्रतिकिलो १ हजार रुपियाँभन्दा माथिको दरमा मह बिक्री हुने गरेको बताइएको छ ।
जिल्लाको बडीकेदार गाउँपालिका–५, रन्तोलाका बीर बहादुर पाल विगत ४ वर्षदेखि मौरी पालन गर्दै आएका छन् । उनले चार वर्षदेखि २० वटा परम्परागत घारमा वार्षिक १ सय किलो मह उत्पादन गर्दै आएको बताएका छन् । मौरीलाई बचाउन समस्या भए पनि आम्दानी राम्रै हुने गरेको उनी बताउँछन् ।
महको बजारीकरणमा सहज होस् भन्ने उद्देश्यले कृषि ज्ञान केन्द्र डोटीले डोटेली मह नाम राखेर किसानलाई मह राख्ने बट्टासमेत वितरण गरेको छ ।













