काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ मा नेपालमा धान उत्पादन ४ प्रतिशतले वृद्धि भएको छ । कृषि मन्त्रालयका अनुसार गत आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा क्षेत्रफल घटेपनि उत्पादन ४ प्रतिशतले बढेको हो ।
आर्थिक वर्ष २०८०/८१ मा नेपालमा ५७ लाख २४ हजार २ सय ३४ मेट्रिक टन धान उत्पादन भएको तर चालु आर्थिक वर्षमा सो उत्पादन बढेर ५९ लाख ५५ हजार ४ सय ७६ मेट्रिक टन पुगेको कृषि मन्त्रालयकी प्रवक्ता डा.मतिना जोशी वैद्यले जानकारी दिइन् । ‘चालु आ.व.मा धान बालीको कुल उत्पादन ५९ लाख ५५ हजार ४ सय ७६ मेट्रिक टन हुने प्रारम्भिक अनुमान रहेको छ,’ प्रवक्त वैद्यले भनिन्, ‘जुन उत्पादन गत आ.ब.को तुलनामा ४.०४ प्रतिशतले बढी हो ।’
त्यस्तै यस वर्ष धान बाली लगाइएको क्षेत्रफलमा सामान्य कमि आउँदा पनि उत्पादकत्वमा वृद्धि भएको छ । यस वर्ष वर्षे र चैते दुवै गरी चालु आ.व.मा कूल १४ लाख २० हजार ६ सय ३६ हेक्टर क्षेत्रफलमा धान लगाइने मन्त्रालयको अनुमान छ । जुन गत आ.व.को तुलनामा १.२८ प्रतिशतले कमि हो । यस आर्थिक वर्षमा धानको उत्पादकत्व पनि हालसम्मकै उच्च भएको मन्त्रालयले जनाएको छ ।
‘औषत उत्पादकत्व ४.१९ मेट्रिक टन प्रति हेक्टरमा पुगि हालसम्मको उच्च बिन्दु कायम हुन पुगेको छ,’ प्रवक्ताले भनिन्, ‘यसै गरी सोहि अवधिमा चैते धान र वर्षे धानको उत्पादन तथा उत्पादकत्व गत आ.व.को तुलनामा बृद्वि हुन गएको छ ।’
यस वर्ष कोशी, मधेश, लुम्विनी र सुदूरपश्चिम प्रदेशमा धान उत्पादनमा बृद्वि भएको छ भने बाँकी तीन प्रदेशहरुका उत्पादन घटेको मन्त्रालयले जनाएको छ ।













