बाजुरा भूकम्प : क्षति भएका घरहरुको यकिन विवरण सङ्कलनमा अलमल

तस्बिर : उज्यालो अनलाइनबाट

बाजुरा । बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिका–५ गोत्री केन्द्रबिन्दू भएर शनिवार बिहान गएको भूकम्पले क्षति भएका घरहरुको यकिन विवरण सङ्कलनमा नै अलमल भएको छ ।

प्रहरीले सङ्कलन गरेको विवरणअनुसार १५ वटा घर पूर्ण रुपमा भत्किएको छ भने अरु केही घरमा सामान्य क्षति भएको छ । प्रहरीले टिपाएको विवरणअनुसार प्रभावित परिवारको लागि हिजो ५९/५९ थान त्रिपाल र कम्बल पठाइएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

पालिकाबाट माग भए अनुसारकै राहत सामग्री पठाइएको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले जानकारी दिएको उज्यालोले उल्लेख गरेको छ । तर भूकम्प प्रभावित क्षेत्रका धेरै परिवारले खुला आकाशमुनी रात काट्नु परेको गुनासो गरेका छन् ।

भूकम्पले घर पुरै नभत्काए पनि कतिपय घर चर्किएको कारण प्रभावितहरु घर बाहिरै बसेका छन् । बस्नै नमिल्ने घरको सङ्ख्या कति छ भनेर विवरण सङ्कलन गर्ने काम भइरहेको जगन्नाथ गाउँपालिका ५ का वडाध्यक्ष गौरी सार्कीले बताएका छन् ।

आज गाउँपालिकाको विपद् समितिको बैठक बसेर यकिन विवरण सङ्कलन गर्ने उनको भनाइ छ । प्रमुख जिल्ला अधिकारी पाध्याका अनुसार पालिकाले यकिन विवरण सङ्कलन गरेर पठाएपछि त्यसैअनुसार राहत सामग्री पठाइने छ ।

Share