एनपीएलको फाइनल खेलमा समर्थकमाथि कुटपिट तथा अभद्र व्यवहार गर्ने दुईजना पक्राउ

तस्बिर : जिल्ला प्रहरी परिसर काठमाडौं

काठमाडौं । पहिलो संस्करणको सिद्धार्थ बैङ्क नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि भिडन्त खेलपछि जनकपुर बोल्ट्सका समर्थकमाथि कुटपिट तथा अभद्र व्यवहार गर्ने दुई जना युवक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंले उक्त कार्यमा संलग्न रहेका दुई जनालाई आईतबार राती ७ बजेतिर पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा डोटीको आदर्श गाउँपालिका वडा नं २ घर भएका तर हाल काठमाडौंको कीर्तिपुर नगरपालिका ८ पाँगा बस्दै आएका २१ वर्षीय अशोक साउद र डोटीकै दिपायल सिलगढी नगरपालिका १ घर भई हाल काठमाडौंको कीर्तिपुर नगरपालिका ७ भाजङगल बस्दै आएका १९ वर्षीय गणेश साउद रहेका प्रहरीले जानकारी दिएको छ ।

कीर्तिपुर स्थिति त्रिवि अन्तर्राष्ट्रियक्रिकेट मैदानमा पुष ६ गते एनपीएलको उपाधि भिडन्त खेलमा जनकपुर बोल्टस र सुदुरपश्‍चिम रोयल्स भिडेका थिए । जसको उपाधि जनकपुरले हात पारेको थियो । उपाधि भिडन्त खेल सम्पन्नपश्चात केहि व्यक्तिहरुले अपमानजनक शब्द प्रयोग गर्ने, साम्प्रदायिक सद्भभाव बिगार्न खोज्ने तथा जनकपुर बोल्ट्सका समर्थकमाथि अभद्र व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । घटनापछि पीडितहरुले कुटपिट तथा अभद्र व्यवहार गर्नेहरुविरुद्ध जाहेरी दिएका थिए ।

पीडितहरुको जाहेरीका आधारमा अनुसन्धान गर्ने क्रममा घटनामा संलग्न दुई जनालाई प्रहरी वृत्त कीर्तिपुरबाट थप अनुसन्धान भइरहेको जनाएको छ । प्रहरीका अनुसार घटनामा संलग्न अन्य व्यक्तिहरुको समेत खोजी जारी रहेको छ ।

उपाधि खेलमा जनकपुरका केही समर्थकमाथि अभद्र व्यवहार भएपछि दाेषीलाई कारबाही गर्न माग गर्दै घटनाबारे चाैतर्फी आलोचना भइरहेको छ। जसमा मधेसी आयोग र मधेस प्रदेशको मुख्यमन्त्री कार्यालयले समेत दोषीलाई कारवाहीको माग गर्दै विज्ञप्ति निकालेको छ ।

Share