एनपीएलमा नश्लीय र साम्प्रदायिक व्यवहार गर्नेलाई कारवाही गर्न मधेसी आयोगको विज्ञप्ति

काठमाडौं । मधेसी आयोगले नेपाल प्रीमियर लिग (एनपीएल) का खेलमा नश्लीय र साम्प्रदायिक व्यवहार प्रदर्शन गर्ने उदण्ड र अराजक समूहलाई कारबाही गर्न सरकारलाई सिफारिस गरेको छ ।

आयोगले एनपीएलको क्वालिफायर-२ अन्तर्गत जनकपुर बोल्ट्स र कर्णाली याक्सबीचको खेलमा जनकपुर बोल्ट्समाथि लक्षित गरी देखाइएको नश्लीय र साम्प्रदायिक व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

“विभिन्न सञ्चार माध्यमबाट प्रष्ट देखिएका यस्ता घटनाका दोषीहरूमाथि सुरक्षा निकायले कुनै कारबाही नगर्नु अत्यन्तै अशोभनीय र गैरजिम्मेवार व्यवहार हो,” आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

संविधान र कानुनले सामाजिक समानताका लागि विभेद र गलत परम्पराका विरुद्ध प्रावधान गरेको भए पनि व्यवहारिक रूपमा अझै पनि विभेदकारी सोच र व्यवहार जारी रहेकोमा आयोगले गहिरो चिन्ता व्यक्त गरेको छ ।

मधेसी आयोगले यस्तो घटनाले संविधान, कानुन र सामाजिक सद्भावलाई चुनौती दिएको उल्लेख गर्दै सरकार र सुरक्षा निकायलाई तत्काल छानबिन गरी कारबाही प्रक्रिया अगाडि बढाउन आग्रह गरेको छ ।

Share