एनपीएल छिनोफानो : दीपेन्द्रले कार प्राप्त गर्दा ललितलाई बाइक, अरूले के पाए पुरस्कार ?

काठमाडौं । नेपालम पहिलो पटक नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको बहुचर्चित नेपाल प्रीमियर लिग (एनपीएल) को समापन आज गरिएको छ । गत मंसिर १५ गतेदेखि सुरु भएको एनपीएल शनिवार सम्पन्न भयो । जसको उपाधि जनकपुर बोल्ट्सले हात पार्याे । सुदूरपश्चिम रोयल्स उपविजेता बन्यो ।

नेपालमा सञ्चालन भएका क्रिकेट प्रतियोगितामध्ये एनपीएल हालसम्मकै ठूलो धनराशिको फ्रेन्चाइज लिग समेत हो ।

एनपीएलबाट नयाँ खेलाडीको उदय हुने अपेक्षा त सबैले गरेका थिए नै त्योसँगै खेलाडीहरुको जीवनस्तरमा पनि ठूलो राहत मिल्ने आँकलन सबैले गरेका थिए । आज खेल समापन भएसँगै सबैले सोचेजस्तै भयो । विभिन्न खेलाडीले विभिन्न किसिमका पुरस्कारसमेत प्राप्त गरेका छन् ।

एनपीएलमा उत्कृष्ट प्रदर्शन गरेका नेपाली राष्ट्रिय टोलीका सदस्य समेत रहेका सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले कार पुरस्कार प्राप्त गरेका छन्। ऐरीले नेपाली बजारमा ६२ लाख रुपैयाँ मूल्य पर्ने ओमोडा इ–फाइभ डीएलक्स कार प्राप्त गरेका हुन् ।

टोलीलाई फाइनलसम्म पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेलेका ऐरीले प्रतियोगिताभर कुल २ सय २७ रन बनाएका थिए। उनले खेल अवधिभर बलिङतर्फ ९ विकेटसमेत हात पारेका थिए।

यस्तै राष्ट्रिय टोलीका स्पिन बलर ललित राजवंशीले १० लाख पर्ने अल्ट्राभाइलेट इलेक्ट्रिक बाइक हात पारेका छन् । ललितले एनपीएलमा उत्कृष्ट बलर वाफत नगद ५ लाख पुरस्कार पनि प्राप्त गरे । उनले १० खेलमा १७ विकेट समेत हात पारेका छन् । यस्तै सुदूरपश्चिमका स्कट कुगेलेइन पनि समान १७ विकेट नै लिएका थिए ।

सुदूरपश्चिमका सैफ अलि जैब ‘प्लेयर अफ दि टुर्नामेन्ट’ घोषित भए । प्रतियोगिताभर २ सय ७५ रन र १२ विकेट लिएका उनले ५ लाख रुपैयाँ प्राप्त गरे ।

एनपीएलमा कुल ३४ चौका प्रहार गरेका लाहिरु मिलान्थाले ‘म्याक्स फोर अफ टुर्नामेन्ट’को अवार्ड प्राप्त गरे। उनले २ लाख रुपैयाँ पुरस्कार पाए ।

२०४ भन्दा माथिको स्ट्राइकरेट भएका जनकपुर बोल्ट्सका जिम्मी निशम ‘बेस्ट ब्याटर’ बने। उनले पनि २ लाख नगद पाए ।

यस्तै कर्णाली याक्सका १६ वर्षीय खेलाडी विपिन शर्मा ‘उदीयमान खेलाडी’ घोषित भए । उनले कर्णालीलाई प्लेअफमा महत्वपूर्ण योगदान दिएका थिए । उनले प्रतियोगितामा १३ विकेट लिएका थिए । शर्माले ५० हजार रुपैयाँ नगद र प्रेजिडेन्सियल कलेजमा १० लाखको छात्रवृत्ति प्राप्त गरे ।

एनपीएलमा लुम्बिनी लायन्सले ‘फेयर प्ले’ अवार्ड जितेको छ ।

एनपीएल च्याम्पियन जनकपुरले १ करोड १० लाख रुपैयाँ र उपविजेता बनेको सुदूरपश्चिमले ५१ लाख पुरस्कार प्राप्त गरे । यस्तै प्रतियोगितामा तेस्रो स्थानमा हासिल गरेको कर्णाली याक्सले २५ लाख तथा चौंथो स्थान हाँसिल गरेको चितवन राइनोजले १५ लाख रुपैयाँ प्राप्त गरेको छ ।