एनपीएलको उपाधि जनकपुरलाई, लाहिरूको क्याच ड्रप नै सुदूरपश्चिमलाई भारी

काठमाडौं । पहिलो संस्करणको सिद्धार्थ बैङ्क नेपाल प्रीमियर लिग (एनपीएल) को उपाधि जनकपुर बोल्ट्सले उचालेको छ । शनिबार भएको रोमाञ्चक उपाधि भिडन्तमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै जनकपुरले उपाधि चुमेको हो ।

सुदूरपश्चिमले दिएको १ सय ८५ रनको चुनौतीपूर्ण लक्ष्य जनकपुरले १९ ओभर २ बलमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो ।

जनकपुरको जितमा ओपनर लाहिरु मिलान्था नायक बने । उनले ४९ बलको सामना गर्दै ९ चौका र ४ छक्काको मद्दतमा ८७ रनको पारी खेले ।

सातौं ओभरको अन्तिम बलमा कप्तान आसिफ शेखलाई ३३ रनमा सैफ अलि जैबले ब्राण्डन म्याकमुलनको हातबाट क्याच गराउँदै पेभिलियनको बाटो फर्काई दिए । दसौं ओभरको अन्तिम बलमा मोहम्मद मोहसिनलाई इशान पाण्डेले ९ रनमा आउट गरे । १६ औं ओभरको तेस्रो बलमा मिलान्थालाई स्कट कुगेलेइनले आउट गरे । मिलान्थाको प्रहारलाई स्कटले नै क्याच गरे ।

यसअघि १२ औं ओभरको दोस्रो बलमा जीवनदान पाएका लाहिरु नै जितको नायक बने । उनलाई सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले जीवनदान दिएका थिए । ११.१ ओभरमा लाहिरू ६६ रन बनाएर खेली रहेका थिए । सोही समयमा दीपेन्द्रको बलमा उनले दिपेन्द्रकै हातमा क्याच बल दिएका थिए । तर, दीपेन्द्रले क्याच ड्रप गर्दा जीवनदान पाएका उनले अन्तिममा टोलीलाई जिततर्फ अग्रसर गराएर मैदान छोडेका थिए ।

८७ रनको पारी खेलेका लाहिरू एनपीएलमा सर्वाधिक रन कर्ता समेत बनेका छन् । उनले २ सय ९३ रन प्रहार गरेका छन् । यस सूचीको दोस्रो स्थानमा रवि बोपारा तेस्रो स्थानमा रोहित कुमार पौडेल रहेका छन् ।

बलिङतर्फ सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी, स्कट कुगेलेइन, इशान पाण्डे र सैफ जैबले १/१ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ८४ रन बनाएको थियो ।

सुदूरपश्चिमका लागि ओपनर सैफ जैबले अर्धशतकीय पारी खेले । उनले ४३ बलमा ८ चौका र २ छक्का प्रहार गर्दै ६९ रन जोडे । अर्का ओपनर विनोद भण्डारीले ४१ रनको योगदान गरे ।

भण्डारी र जैबले उत्कृष्ट सुरुवात गरेका थिए । उनीहरुले पहिलो ओभरका लागि १ सय १७ रनको साझेदारी गरे । जुन सुदूरपश्चिमका लागि सबैभन्दा ठूलो साझेदारी हो ।

त्यसपछि लगातार विकेट गएको कारण विशाल लक्ष्य दिन सुदूरपश्चिमले सकेन ।

कप्तान दीपेन्द्रसिंह ऐरीले ९, हरमित सिंहले १४, ब्राण्डन म्याकमुलनले १४, स्कट कुगेलेइनले १३ रन बनाए । आरिफ शेख १ रनमै आउट भए ।

जनकपुरका लागि मोहम्मद मोहसिन र किशोर महतोले तीनरतीन तथा ललित राजवंशी र जेम्स निशमले १/१ विकेट लिए ।

यससँगै विजेता टोली जनकपुरले १ करोड १० लाख रुपैयाँ जितेको छ । उपविजेता सुदूरपश्चिमले ५१ लाख रुपैयाँ जितेको छ । तेस्रो कर्णाली याक्सले २५ लाख र चौथो चितवन राइनोजले १५ लाख रुपैयाँ पाएका छन् ।

Share