ओपनर ब्याट्सम्यानको उत्कृष्ट प्रदर्शनसँगै सुदूरपश्चिमद्वारा जनकपुरसामु चुनौतीपूर्ण लक्ष्य प्रस्तुत

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधि भिडन्त खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्ससामु १ सय ८५ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित २० ओभर ९ विकेटको क्षतिमा १ सय ८४ रनको चुनौतीपूर्ण योगफल खडा गर्यो ।

उसका लागि ओपनर ब्याट्सम्यान सैफ अलि जैब र विनोद भण्डारीले उत्कृष्ट प्रदर्शन गरे । पहिलो विकेटका लागि यी दुई ब्याट्सम्यानले १ सय १७ रनको शतकीय साझेदारी गरे । जुन सुदूरपश्चिमका लागि हालसम्मकै सबैभन्दा ठूलो साझेदारी हो । १२ ओभरको अन्तिम बलमा किशोर महतोले ललित राजवंशीको हातबाट जैबलाई आउट गराउँदै उक्त साझेदारीलाई तोडेका हुन् ।

आउट हुनु अगाडि जैबले ४३ बलको सामना गर्दै ८ चौका र २ छक्काको मद्दतमा ६९ रनको अर्धशतकीय पारी खेले । यस्तै अर्का ओपनर ब्याट्सम्यान भण्डारीलाई राजवंशीले १३ औं ओभरको तेस्रो बलमा बोल्ड आउट गरिदिए । त्यसअघि भण्डारीले ३० बलको सामना गर्दै ४१ रन बनाएका थिए ।

त्यसपछि लगातार विकेट गएको पतनपछि जुन रूपमा सुदूरपश्चिमले सुरुवात गरेको थियो सोही लयलाई कायम भने राख्न सकेन ।

कप्तान दीपेन्द्रसिंह ऐरी ९, हरमित सिंहले १४, ब्राण्डन म्याकमुलनले १४, स्कट कुगेलेइनले १३ रन बनाए । आरिफ शेख १ रनमै पेभिलियन फर्किए ।

बलिङतर्फ जनकपुरका लागि मोहम्मद मोहसिन र किशोर महतोले समान तीन/तीन तथा ललित राजवंशी र जेम्स निशमले १/१ विकेट लिए ।

ललितले १ विकेट हात पारेसँगै उनी सबैभन्दा बढी विकेट लिने खेलाडीको शीर्ष स्थानमा उक्लिएका छन् । दोस्रो स्थानमा सुदूरपश्चिम रोयल्सका स्कट कुगेलेइन छन् । उनले १६ विकेट लिएका छन् । उनले अब एक विकेट हात पारे एक खेल कम खेलेको आधारमा शीर्ष स्थानमा उक्लिने छन् ।