कैलाली । कैलालीमा हिरासतमा रहेका व्यक्तिलाई थुनामुक्त गराइदिने भन्दै रकम लिने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा रहेका एक व्यक्तिलाई आफूहरुले थुनामुक्त गरिदिने भन्दै थुनुवाका आफन्तसँग रकम लिएका तिन जनालाई प्रहरीले पक्राउ गरेको हो । लागुऔषध मुद्धामा हिरासतमा रहेका युवकलाई आफूहरुले थुनामुक्त गरिदिने भन्दै ३९ हजार ५ सय भारतीय रुपैयाँ आफन्तबाट लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका सहप्रवक्ता तथा प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिएका छन् ।
पक्राउ पर्नेमा जिल्लाको गौरीगंगा नगरपालिका वडा नं. ७ का २९ वर्षिया रुपक साउद, २२ वर्षिया रमेश साउद र १९ वर्षिया हर्क साउद रहेका छन् ।
उनीहरुले तीन जनाले थुनुवाका आफन्तबाट साढे ३९ हजार पैसा लिएको र बाँकी थुनामुक्त गराइसकेपछि लिने भनी मोलमोलाई गरेको पक्राउ गरी सोधपुछ गर्ने क्रममा खुल्न आएको सहप्रवक्ता खड्काले जानकारी दिए ।
हाल पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।












