एनपीएल उपाधि भिडन्त : सुदूरपश्चिम र जनकपुर कसले मार्ला बाजी ?, हारको बदला लिने दाउमा जनकपुर

कैलाली । नेपालमा पहिलो पटक आयोजना गरिएको बहुचर्चित फ्रेन्चाइज लिग एनपीएलको समापन अर्थात उपाधि भिन्डत आज शनिबार हुँदैछ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आफै आयोजना गरेको ठूलो धनराशीकोे प्रतियोगिता हो एनपीएल । पहिलो संस्करणका सिद्धार्थ बैङ्क नेपाल प्रीमियर लिग (एनपीएल) को उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दैछन् ।

शनिवार मध्यान्ह १२ः१५ बजेदेखि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल सुरु हुने समय तालिका रहेको छ । जारी प्रतियोगितामा जनकपुरलाई सुदूरपश्चिमले दुई पटक पराजित गरिसकेको छ । सोही लयलाई कायम राख्दै आज पनि सुदूर उच्च मनोबलका साथ मैदान प्रबेश गर्नेछ । उता दुई दुई पटक पराजय भोगिसकेको जनकपुर हारको बदला लिँदै उपाधि हात पार्ने योजनाका साथ मैदान प्रवेश गर्ने योजनामा रहेको छ ।

सुदूरपश्चिम लिगमा अंक तालिकाको शीर्ष स्थानमा रहँदै क्वालिफायर हुँदै फाइनल आइपुगेको पुगेको टोली हो । उता जनकपुर अंक तालिकाको दोस्रो स्थान रहेको थियो । पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग पराजित भएको जनकपुर दोस्रो क्वालिफायरमा कर्णाली याक्सलाई पराजित गर्दै उपाधि भिडन्तमा पुगेको थियो ।

दीपेन्द्रसिंह ऐरीले कप्तानी गरिरहेको सुदूरपश्चिम जारी एनपीएलकै सबैभन्दा लयमा रहेको टोली हो । उता, जनकपुर पनि सन्तुलित टोलीका रुपमा देखिएको छ । लिग चरणमा जनकपुरको कप्तानी अनिल कुमार शाहले गरेका थिए । अहिले उनी चोटका कारण टोलीको कप्तानी आसिफ शेखले गरिरहेका छन् ।

जनकपुर बोल्ट्सका कप्तान आसिफ शेखले फाइनलका लागि आफूहरूले छुट्टै योजना नबनाएको बताए । उनले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘फाइनलका लागि कुनै विशेष योजना छैन् । म अभ्यास खेललाई जति महत्व दिन्छु फाइनल खेललाई पनि उत्तिकै महत्व दिन्छु । मेरो लागि सबै खेल उस्तै हो ।’

उनले फाइनल खेलमा नेपाली खेलाडी नै निर्णायक बनुन् भन्ने आफ्नो चाहना रहेको पनि बताए । ‘फाइनल खेल जसले जिते पनि केही छैन् । तर, जितको नायक नेपाली खेलाडी नै बनुन् भन्ने मेरो चाहना छ,’ पत्रकार सम्मेलनमा आसिफ शेखले भने ।

यसैगरी, सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले पनि आफूहरू फाइनल खेलका लागि तयार रहेको बताए । उनले पनि आफ्ना लागि फाइनल खेल अन्य खेलकै जस्तो भएको प्रतिक्रिया दिए । ‘हाम्रा लागि फाइनल खेल पनि यसअघिका अन्य खेलजस्तै हो । कुनै विशेष योजना छैन,’ उनले भने ।

कप्तान दीपेन्द्रले फाइनल खेलमा आफ्ना खेलाडीले आफ्नो सम्पूर्ण क्षमता लगाएर खेल्ने बताए । सुदूरपश्चिम रोयल्सका मार्की खेलाडीसमेत रहेका दीपेन्द्रले टस जितेमा विकेटको अवस्था हेरेर ब्याटिङ वा बलिङको निर्णय लिने जानकारी पनि दिए ।