काठमाडौं : पहिलो संस्करणको सिद्धार्थ बैङ्क नेपाल प्रिमियर लिग(एनपीएल)मा विराटनगर किङ्गस सुखद अन्त्य गर्न चुकेको छ । यसअघि नै प्लेअफको दौडबाट बाहिरी सकेको विराटनगर आफ्नो अन्तिम खेलमा काठमाडौं गुर्खाजसँग १ विकेटले पराजित हुन पुग्यो ।
आज बिहान भएको पहिलो खेलमा विराटनगरमाथि १ विकेटको सनसनीपूर्ण जित हात पारेको काठमाडौं अङ्क तालिकाको पाँचौं स्थानको रहेको छ । जितपछि काठमाडौंले प्लेअफको सम्भावना कायमै राखेको छ । अब उ प्लेअफमा जाने नजाने कर्णाली याक्सको हातमा निर्भर रहेको छ ।
कर्णाली आफ्नो अन्तिम खेलमा पराजित भए काठमाडौं अर्को चरणमा पुग्ने छ । यदि कर्णालीले आफ्नो अन्तिम खेलमा जित हात पारे काठमाडौंको अर्को चरणको यात्रामा पूर्णविराम लाग्ने छ ।
आजको खेलमा विराटनगरले दिएको १ सय १८ रनको सामान्य विजयी लक्ष्य लिएर ब्याटिङमा उत्रिएको काठमाडौंले १८ ओभर १ बलरमा ९ विकेटको क्षतिमा जित हात पार्यो ।
उसका लागि प्रतिक श्रेष्ठले सर्वाधिक ३९ को योगदान दिँदा शंकर राना १६ रनमा अविजित रहे । यस्तै रसिद खान १४, जेरार्ड एरासमस १२ जोड्दा दिपेश कँडेल ११ रनमा अविजित रहे । बाँकी ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् ।
बलिङतर्फ विराटनगरका कप्तान सन्दीप लामिछने ३, बसिर अहमद, अनिल खरेल र क्रिश सोल समान २ विकेट हात पारे ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगर एक बल बाँकी छँदै सबै विकेट गुमाएर १ सय १७ रनमा समेटिन पुग्यो ।
उसका लागि राजेश पुलामी मगरले सर्वाधिक २५ रनको योगदान दिँदा दिपक बोहराले २० , स्कट एडवार्डले १५ तथा बसिर अहमद १३ रनको योगदान दिएका थिए ।
बलिङतर्फ जेरार्ड एरासमले ३ विकेट हात पार्दा दिपेश कँडेलले दुई तथा डन डौथवेथ, कप्तान करण केसी, साहव आलमले १/१ विकेट लिए।












