एनपीएल : चितवनले जनकपुरलाई पराजित गरेसँगै विराटनगर र पोखरा प्लेअफको दौडबाट बाहिरिए

तस्बिर : एनपीएल

काठमाडौं । नेपाल प्रीमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो पराजय भोगेको छ । आज भएको दोस्रो खेलमा चितवन राइनोजले जनकपुरमाथि ३२ रनको जित हात परेसँगै उसले प्लेअफको सम्भावना समेत बलियो बनाएको छ ।

जनकपुर यसअघि नै प्लेअफमा पुगिसकेको छ । चितवनले भने ७ खेलबाट ८ अङ्क जोडेको छ ।

अहिलेसम्म जनकपुरले प्लेअफमा स्थान बनाउँदा सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स पनि ८ अङ्क नै जोडेर प्लेअफ नजिक छन् । यस्तै ६ खेलबाट ६ अङ्क जोडेर पाँचौ स्थानमा रहेको काठमाडौं गुर्खाजको पनि प्लेअफ सम्भावना बाँकी नै रहेको छ ।

चितवनले जनकपुरलाई पराजित गरेसँगै विराटनगर किङ्गस र पोखरा एभेन्जर्स भने आफ्नो अन्तिम खेल खेल्नु अगावै प्लेअफ होडबाट बाहिरिएका छन् । यस्तै लुम्बिनी लायन्स यसअघि नै लिग चरणबाट बाहिरिसकेको छ ।

अब प्लेअफको बाँकी तीन स्थानका लागि चार टोली होडमा रहेका छन् । भोलि आइतबार काठमाडौं र विराटनगर तथा सुदूरपश्चिम र पोखराबीच खेल हुनेछ ।

काठमाडौंलाई प्लेअफ पुग्न अन्तिम खेल आफू अनुकुल जित्नैपर्ने बाध्यता छ । काठमाडौं विराटनगरसँग पराजित भएमा सुदूरपश्चिम, कर्णाली र चितवन प्लेअफ पुग्नेछन् ।

जनकपुरले लिग चरणको ७ खेल नै खेलिसकेको छ । जसमा ५ जित र २ हारको नतिजा निकालेको जनकपुर १० अङ्कसहित शीर्ष स्थानमा छ । जनकपुर शीर्ष दुईमा रहने वा नरहने भन्ने कुरा सुदूरपश्चिमको बाँकी दुई खेलपछि टुङ्गो लाग्नेछ ।

१ सय ८१ रनको विशाल लक्ष्य पछ्याएको जनकपुर बोल्टस १८ ओभरमा सबै विकेट गुमाएर १ सय ४८ रनमा समेटिन पुग्यो ।

जनकपुरका लागि जीमी निशामले आक्रमक ब्याटिङ गर्दै २४ बलमा ६५ रन बनाएपनि जित दिलाउन भने सकेनन् । १८ बलमै अर्धशतक प्रहार गरेका निशम एनपीएलमा सबैभन्दा छिटो अर्धशतक बनाउने खेलाडी बने ।

आसिफ शेखले २३ रन जोडे । अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।

चितवनका रिजन ढकाल, सोहेल तनविर र कुशल मल्लले २/२ विकेट लिए । अमर सिंह रउटेलाले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवनले कप्तान कुशल मल्लको अर्धशतकको मद्दतमा ५ विकेट गुमाएर १ सय ८० रनको विशाल योगफल खडा गरेको थियो । मल्लले ४१ बल खेल्दै ३ चौका र ७ छक्काको मद्दतमा ७२ रन प्रहार गरे ।

बलिङमा जनकपुरका लागि ललित राजवंशीले २ विकेट लिए ।

Share