काठमाडौं । पहिलो संस्करणको सिद्धार्थ बैङ्क नेपाल प्रिमियर लिग (एनपीएल) मा शनिबार भएको पहिलो खेलमा काठमाडौं गुर्खाजले पोखरा एभेन्जर्समाथि सहज जित हासिल गर्दै प्लेअफको सम्भावना जिवितै राखेको छ । आज बिहान कीर्तिपुर स्थिति त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा काठमाडौंले ६ विकेटको जित हात पारेको हो ।
पोखराले दिएको १ सय ३९ रनको मध्यम लक्ष्य पछ्याएको काठमाडौंले ३५ बल बाँकी छँदै ४ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो। उसका लागि स्टेफन इसकनाजीले अर्धशतकीय पारी खेले । ३४ बलको सामना गरेका उनले १० चौकाको मद्दतमा सर्वाधिक ६० रनको योगदान दिए । स्टेफनले माइकल लेभिटसँग मिलेर टोलीलाई राम्रो सुरुवात दिलाएका थिए । उनीहरुले ५ ओभर ३ बलमा ५८ रनको साझेदारी गरे । लेभिट १८ बलमा ३२ रन जोड्दै पभेलियन फर्किएका थिए । उनले ६ चौका र १ छक्का हिर्काए ।
त्यस्तै भीम सार्की २० बलमा २२ रन बनाएर आउट भए । उनले १ चौका र १ छक्का प्रहार गरे । जेरहार्ड इरास्मसले १० बलमा २५ रन जोड्दै टोलीलाई विजय लक्ष्यसम्म डोर्याए ।
पोखराका लागि विपिन खत्रीले ३ विकेट लिए । माइकल लिस्कले एक विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३८ रनको योगफल खडा गरेको थियो । टोलीका लागि ओपनर दिनेश खरेलले ३८ रनको योगदान दिए । उनले २५ बलमा ६ चौका र १ छक्का प्रहार गरे । उनले छैटौँ ओभरमा रसिद खानको बलिङमा लगातार चार चौका प्रहार गरेका थिए । तर, अन्तिम बलमा आउट हुन पुगे ।
पोखराको सुरुवात भने राम्रो हुन सकेन । टोलीका लागि सर्वाधिक रन बनाएका एन्ड्रिज गौस दोस्रो ओभरमा शून्य रनमा पभेलियन फर्किए । त्यसपछि खरेलले पावरप्लेमा टोलीलाई राहत दिए । तर, उनी आउट भए लगत्तै कप्तान कुशल भुर्तेल पनि ७ रन बनाएर पभेलियन फर्किए ।
कुशल आउट भएपछि पोखराले नियमितरुपमा विकेट गुमाउँदै गायो । दीलिप नाथले २४ बलमा २७ रन बनाए । उनले २ छक्का प्रहार गरे । अन्त्यतिर, रेमन रिफरले तीव्र गतिमा रन बनाउँदै सर्वाधिक ४१ रनको योगदान दिए । उनले ३० बलमा १ चौका र ३ छक्का हिर्काए ।
काठमाडौंका लागि कप्तान करण केसी र रसिद खानले ३/३ विकेट लिए । केसीले ४ ओभर बलिङ गर्दै मात्र २४ रन खर्चिए । प्रतियोगितामा उनको विकेट संख्या ११ पुगेको छ । जेरहार्ड इरास्मस र माइकल लेभिटले १/१ विकेट लिए ।
जितपछि काठमाडौंको ६ खेलबाट ६ अङ्क भएको छ । ठूलो अन्तरको जितका कारण टोलीलाई नेट रन रेटमा फाइदा भएको छ । ६ खेलबाट ४ अङ्क बटुलेको पोखराको प्लेअफ पुग्ने सम्भावना समाप्त भएको छ ।












