काठमाडौं । पहिलो संस्करणको सिद्धार्थ बैङ्क नेपाल प्रीमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले पहिलो हार बेहोरेको छ । बुधबार बिहान भएको खेलमा सुदूरपश्चिम रोयल्सले ७२ रनको सानदार जित हात पार्दै जनकपुरको अपराजित यात्रामा पूर्णविराम लगाई दिएको हो ।
सुदूरपश्चिमले दिएको १ सय २४ रनको मध्यम लक्ष्य पछ्याएको जनकपुर १२ ओभर १ बलमा सबै विकेट गुमाएर जम्मा ५१ रनमै समेटिन पुग्यो । सुरुवात देखि नै दबाबमा राखेको सुदूरपश्चिमले अन्तिमसम्म जनकपुरलाई दबाबमा राख्दै अन्ततः उसको अपराजित यात्रालाई पूर्णविराम लगाई दिएको हो ।
उसका लागि जोशुआ ट्रम्पले १३ रन बनाउन बाहेक बाँकी ब्याट्सम्यानले दोहोरो अङ्कमा समेत रन जोड्न सकेनन् ।
बलिङतर्फ सुदूरपश्चिमका हर्मीत सिंह, कप्तान दीपेन्द्र सिंह ऐरी र ईशान पाण्डेले समान २ तथा सैफ जैब, नरेन साउद र स्कट कुग्गेलिजनले समान १ विकेट हात पारे ।
यसअघि कीर्तिपुर स्थिति त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदुरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २३ रनको योगफल तयार गरेको थियो ।
उसका लागि विकेट किपर तथा ओपनर ब्याट्सम्यान विनोद भण्डारीले ३३, सैफ जैब २१, ईशान पाण्डेले १७ रनको योगदान दिँदा कप्तान दीपेन्द्र सिंह ऐरी शून्य रनमा पेभिलियनको बाटो फर्किए । नरेश बुढायर ९ रनमा अविजित रहँदा बाँकी खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन् ।
बलिङतर्फ जनकपुरका किशोर महत्तोले सर्वाधिक ४ विकेट हात पार्दा अरनिको यादव र शेर मल्लले समान २ तथा हर्ष थाकरले १ विकेट लिए ।
जारी एनपीएलमा जनकपुर अपराजित एक्लो टोली थियो तर उसले पनि आफ्नो पाँचौं खेलमा हार बेहोरेको छ ।













