एनपीएल : सुखद अन्त्य गर्न चुक्यो लुम्बिनी, कर्णालीको प्ले अफ सम्भावना बलियो

तस्बिर : एनपीएल

काठमाडौं । पहिलो संस्करणको सिद्धार्थ बैङ्क नेपाल प्रीमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्स सुखद् अन्त्य गर्नबाट चुकेको छ ।

शुक्रबार बिहान भएको आफ्नो अन्तिम खेलमा लुम्बिनी कर्णालीसँग ५ रनले पराजित हुन पुग्यो ।

जितसँगै कर्णालीको प्लेअफ सम्भावना बलियो बनेको छ । यता लुम्बिनी भने जारी एनपीएलमा लिग चरणबाटै रोकिने पहिलो टोली बनेको छ ।

कर्णालीले दिएको १ सय २९ रनको मध्यम लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय २३ रन मात्र बनायो । उसका लागि टम मुर्सले सर्वाधिक ३६ रनको योगदान दिए ।

त्यस्तै सन्दीप जोराले २४ रन बनाउँदा कप्तान रोहितकुमार पौडेल १०, ओपनरद्वय आशुतोष घिरैया १६ र अर्जुन साउद १३ रन बनाएर पेभिलियन फर्किए ।

बलिङतर्फ कर्णालीका जिशान मक्सुदले २ तथा कप्तान सोमपाल कामी, नन्दन यादव, विपिन शर्मा र विलियम बोसिस्टोले समान १ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको कर्णालीलेनिर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय २८ रनको आँकडा तयार पारेको थियो । उसका लागि विलियम बोसिस्टोले सर्वाधिक ४४ रन बनाए । उनले ३० बलमा ३ चौका र ३ छक्का प्रहार गरे ।

अर्जुन घर्तीले २५ रन बनाउँदा बाबर हायातले २० र च्याडविक वाल्टनले १३ रन जोडे । अन्य खेलाडीले दोहोरो अङ्कमा समेत रन जोड्न सकेनन् ।

लुम्बिनीका डेब्यू गरेका विकास आग्रीले ३, तिलक भण्डारी २ तथा रामोन सिमन्ड्स, साद बिन जफर र रोहितले १/१ विकेट लिए ।

यससँगै लुम्बिनीले ७ खेलमा केवल १ जित निकाल्दै मात्रै २ अङ्क जोड्दै एनपीएलबाट आफ्नो यात्रा टुङ्ग्याएको छ ।

एनपीएलमा लुम्बिनीले केवल चितवान राइनोजमाथि जित हात पारेको थियो ।

६ खेलमध्ये ५ मा जित हासिल गरेको जनकपुर बोल्ट्स १० अङ्कसहित शीर्ष स्थानमा रहँदा ५ खेलमध्ये ४ मा जित हासिल गरेको सुदूरपश्चिम रोयल्स ८ अङ्कसहित दोस्रो स्थानमा छ ।

कर्णाली ८ अङ्कसहित तेस्रो स्थानमा छ ।