काठमाडौं । पहिलो संस्करणको नेपाल प्रीमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सको अपराजित यात्रामा पूर्णविराम लागेको छ । आज भएको खेलमा चितवन राइनोजसँग ३३ रनले पराजित भएसँगै अपराजित यात्रामा पूर्णविराम लागेको हो ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चितवनले दिएको १ सय ६५ रनको चुनौतीपूर्ण विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिम १८ ओभर ८ बलमा सबै विकेट गुमाएर १ सय ३१ रनमा समेटिन पुग्यो । उसका लागि इशान पाण्डेले ३५ रन, सैफ जैबले १८ रन जोडे । बाँकी खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।
चितवनका लागि कप्तान कुशल मल्ल, जान लोफ्टी इटन, अमर रौतेलाले २/२ तथा रिजन ढकालले १ विकेट हात पारे ।
यसअघि टस जितेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६४ रनको योगफल खडा गरेको थियो । उसका लागि ओपनर हसन इसाखिलले अर्धशतकीय पारी खेले । उनले ५१ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै ६५ रन जोडे । रवि बोपाराले ३६ रन बनाए ।
कप्तान कुशल मल्लले १३ रन बनाउँदा विपिन रावलले १७ रन र सन्तोष कार्कीले ९ रनको योगदान गरे ।
सुदूरपश्चिमका स्कट कुग्गेलिजनले २ तथा ब्राण्डन म्याकमुलन र सैफ जैबले १/१ विकेट लिए
एनपीएलमा सुदूरपश्चिमको यो पहिलो हार हो भने चितवनको यो तेस्रो जित हो । हारसँगै सुदूरपश्चिमले अङ्क तालिकाको शीर्षस्थानमा उक्लिने मौका समेत गुमाएको छ । अङ्क तालिकाको शीर्ष स्थानमा जनकपुर बोल्ट्स रहेको छ । उसले आफूले खेलेका ४ मध्ये ४ खेलमै जित हात पारेको छ । जारी एनपीएलमा हालसम्म अपराजित एक्लो टोली बनेको छ जनकपुर ।













