विवेकको उत्कृष्ट प्रदर्शनका बावजुत पनि पराजित लुम्बिनी, सुदूरपश्चिमको लगातार तेस्रो जित

काठमाडौं । नेपाल प्रीमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले लगातार तेस्रो जित हात पारेको छ ।

शनिबार बिहान भएको खेलमा सुदूरपश्चिमले लुम्बिनी लायन्सलाई ४५ रनले पराजित गर्दै प्रतियोगितामा तेस्रो जित हाँसिल गरेको हो । लुम्बिनीको भने यो लगातार तेस्रो हार हो ।

सुदूरपश्चिमको घातक बलिङसामु लुम्बिनीको टप अडरको ब्याटिङ लाईन धराशायी बन्दा जित हात पार्न सकेन ।

सुदूरपश्चिमले दिएको १ सय ८८ रनको लक्ष्यमा पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४२ रन मात्र बनायो ।

उसका लागि सातौँ नम्बरमा आएका विवेक यादवले विस्फोटक ब्याटिङ गर्दै अविजित ७७ रनको अर्धशतकीय पारी खेले पनि त्यो जितको लागि प्रयाप्त भने भएन । ५२ बलको सामना गरेका यादवले ३ चौका र ७ छक्का प्रहार गरे 

यस्तै सन्दीप जोराले २० र दिनेश अधिकारीले १४ रन बनाए । पहिलो ओभरको पहिलो बलमा अर्जुन साउद शून्य र अन्तिम बलमा उन्मुक्त चन्द ४ रनमा पेभिलियनको बाटो फर्किएपछि मैदानमा लरखराई रहेको ब्याटिङ लाईन कप्तान रोहित कुमार पौडेलले समेत सम्हाल्न सकेनन् ।

पौडेल पनि ५ रनमै पेभिलियन फर्किए । ३.२ ओभरमा टम मुर्स ७ रनमा आउट भए । 

सुदूरपश्चिमका लागि ब्राण्डन म्याकमुलन र सैफ जैब ३/३ तथा स्कट कुग्गेलिजनले २ र अविनाश बोहराले १ विकेट हात पारे ।

यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ८७ रन चुनौतीपूर्ण योगफल खडा गरेको थियो ।

सुदूरपश्चिमका लागि ओपनरका सैफ जैबले सर्वाधिक ९० रनको योगदान गरे । जारी एनपीएलमा यो उनको पहिलो अर्धशतक हो । यसअघि उनले काठमाडौं गुर्खाजविरुद्ध ११ र विराटनगर किंग्सविरुद्ध १४ रन बनाएका थिए ।

कप्तान दीपेन्द्रसिंह ऐरीले अविजित ३९ रन बनाए । ब्राण्डन म्याकमुलनले २३ रन बनाउँदा विनाद भण्डारीले १७ रनको योगदान गरे । आरिफ शेख भने आफूले सामना गरेको पहिलो बलमा शून्य रनमा पेभिलियन फर्किए ।

लुम्बिनीका लागि रामोन सिमन्ड्सले २ तथा कप्तान रोहितकुमार पौडेल र विवेक यादवले १/१ विकेट लिए ।

आज नै हुने अर्को खेलमा विराटनगर किंङ्स र कर्णाली याक्स भिड्ने भएका छन् ।