एन्ड्रिज गौसकाे सानदार शतकमा पोखराको पहिलो जित, लुम्बिनी १० विकेटले पराजित 

काठमाडौं । पहिलो संस्करणको नेपाल प्रीमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सले पहिलो जित हात पारेको छ । आज भएको खेलमा लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सानदार जित हात पारेको हो । पोखराको जितमा एन्ड्रिज गौसले सानदार शतकीय पारी खेले । यो सँगै गौस जारी एनपीएलमा शतक प्रहार गर्ने पहिलो खेलाडी समेत बनेका छन् ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार भएको दोस्रो खेलमा लुम्बिनीले दिएको १ सय ७१ रनको विशाल लक्ष्य पछ्याएको पोखराले बिना विकेटको क्षतिमा १६ ओभर ५ बलमा उक्त लक्ष्य पूरा गर्यो । जसको जितमा ओपनर द्वय एन्ड्रिज गौस र दिपेश खरेल नायक बने ।

५५ बलको सामना गरेका गौसले १२ चौका र ५ छक्काको मद्दतमा १ सय ४ रनको अविजित शतकीय पारी खेले । यस्तै ४६ बलको सामना गरेका खरेलले समान ४ छक्का र चौकाको मद्दतमा ६१ रनको अविजित अर्धशतकिय पारी खेल्दै टोलीलाई सानदार जित दिलाए ।

जारी एनपीएलमा पोखराको यो पहिलो जित हो भने लुम्बिनी लायन्सको लगातार दोस्रो हार हो । पोखरा यसअघि चितवन राइनोज र जनकपुर बोल्ट्ससँग पराजित भएको थियो भने लुम्बिनीले विराटनगर किङ्गससँग पराजय भोगेको थियो ।

यसअघि टस जितेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ७० रन चुनौतीपूर्ण योगफल तयार पारेको थियो ।

उसका लागि कप्तान रोहितकुमार पौडेलले ९५ रनको पारी खेल्दै टोलीलाई विशाल योगफल तिर दोर्याएका थिए । उनले ५९ बलमा १० चौका र ४ छक्का प्रहार गरे । टम मुर्सले ४५ रन बनाए । त्यसक्रममा उनले २ चौका र २ छक्का प्रहार गरे ।

ओपनरद्वय आशुतोष घिरैया र उन्मुक्त चन्द शून्य रनमै पेभिलियनको बाटो फर्किएपछि रोहित र मुर्स क्रिजमा आएका थिए । उनीहरुले शतकीय साझेदारी गर्दै टोलीलाई विशाल योगफल तर्फ लागेका थिए ।

यस्तै, सन्दीप जोराले १८ रन बनाए ।

पोखरा एभेन्जर्सका लागि विपिन खत्रीले २ तथा म्याट क्रिचलेले १ विकेट लिए ।

Share