एनपीएल : कर्णाली याक्सको पहिलो जित, चितवन राइनोज ६ विकेटले पराजित

काठमाडौं । नेपाल प्रीमियर लिग (एनपीएल)मा कर्णाली याक्सले पहिलो जित हात पारेको छ । भर्खरै सम्पन्न खेलमा चितवन राइनोजलाई ६ विकेटले पराजित गर्दै पहिलो जित दर्ता गरेको हो ।

पहिलो दुई खेलमा पराजित भएको कर्णालीको यो पहिलो जित हो भने लगातार दुई खेल जितेको चितवनको यो पहिलो हार हो ।

चितवनले दिएको १ सय ३१ रनको सामान्य लक्ष्य कर्णालीले १९ ओभर ५ बलमा मात्रै ४ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।

उसका लागि ओपनर शिखर धवनले ४५ रन बनाए । च्याडविक वाल्टनले ३० रनको योगदान गरे । ओपनर देव खनालले २५ रन जोडे । जिशन मक्सुदले १२ रन बनाए ।

चितवनका लागि रवि बोपरा, कुशल मल्ल र जान निकोल लोफ्टी इटनले समान १ विकेट लिए ।

यसअघि ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३० रनको योगफल तयार पारेको थियो ।

चितवनका लागि रवि बोपाराले अविजित ५८ रन बनाए । उनले ३५ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे ।

कप्तान कुशल मल्लले २३, विपिन रावलले ११, जान निकोल लोफ्टी–इटन ९ , दीपक बोहरा ८ र लुक बेन्केनस्टाइन भने शून्यमा आउट भए । शरद भेषावकर ६ रनमा अविजित रहे ।

कर्णालीका लागि विपिन शर्माले ३, जिशान मक्सुदले २ तथा नन्दन यादव, र सोमपाल कामीले १-१ विकेट लिए ।

आज नै हुने अर्को खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ ।

Share