काठमाडौं । पहिलो संस्करणको नेपाल प्रीमियर लिग एनपीएलमा सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो जित हात पारेको छ । स्पिनर नरेन साउदको घातक बलिङसामु काठमाडौं गुर्खाजका ब्याट्सम्यान निरिह बन्दा सुदूरपश्चिमले लगातार दोस्रो जित निकालेको हो ।
बिहीबार भएको दोस्रो खेलमा सुदूरपश्चिमका स्पिनर बलर साउदले एक्लैले ५ विकेट हात पार्दा काठमाडौंले ७३ रनको फराकिलो हार बेहोर्नु पर्यो ।
१ सय ६८ रनको विजयी लक्ष्य पछ्याएको काठमाडौं गुर्खाज १५ ओभर ५ बलमा ९४ रनमै समेटिन पुग्यो । जसका लागि सुदूरपश्चिमका नै साउद घातक बने । साउद जारी एनपीएलमा एकै खेलमा ५ विकेट लिने दोस्रो बलर तथा पहिलो नेपाली खेलाडी बनेका छन् ।
यसअघि चितवन राइनोजका पाकिस्तानी बलर सोहल तनविरले काठमाडौं विरुद्ध नै ५ विकेट हात पारेका थिए ।
साउद यू १९ एसिया कप खेलेर बुधबार मात्रै काठमाडौं आइपुगेका थिए । स्वदेश फर्केको अर्को दिन नै उनले एनपीएलमा डेब्यु गर्दै सानदार प्रदर्शन गर्दै गरेका हुन् ।
साउद बाहेक अविनाश बोहराले ३ ओभरमा १ मेडन राख्दै १२ रन खर्चेर २ विकेट हात पार्दा ब्राण्डन म्याकमुलेन र सैफ जैबले समान १ विकेट लिए ।
काठमाडौंका लागि स्टेफेन इस्किनाजीले सर्वाधिक ३७ रन बनाए । ३३ बलको सामना गरेका उनले ५ चौका र १ छक्का प्रहार गरे । सुमित महर्जनले १४ तथा भिम शार्की र जेरार्ड एरासमसले समान १० रन जोडे ।
बाँकी खेलाडीले दोहोरो अङ्कमा समेत रन जोड्न सकेनन् ।
त्यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ब्राण्डन म्याकमुलेनको अर्धशतक र दीपेन्द्र सिंह ऐरीको आक्रमक ब्याटिङको सहयोगमा १ सय ६७ रनको आँकडा तयार गरेको थियो ।
म्याकमुलेनले ३६ बल खेल्दै ३ चौका र ४ छक्का मद्दतमा सर्वाधिक ५३ रन बनाए । यस्तै कप्तान दीपेन्द्रले २५ बलमा ३ चौका र २ छक्का मदतमा ४३ रन जोडे । ओपनर विनोद भण्डारीले २८ बल खेल्दै समान २ चौका र छक्का मद्दतमा ३५ रन बनाए । सैफ जैबले ११ रन जोडे ।
बलिङतर्फ काठमाडौंका रासिद खानले २ विकेट लिए । कप्तान करण केसी, शाहब आलम र एरासमसले १-१ विकेट लिए ।
जारी एनपीएलमा काठमाडौंको यो दोस्रो पराजय हो । पहिलो खेलमा चितवन राइनोजसँग ५ विकेटको पराजय भोगेको काठमाडौंले दोस्रो खेलमा कर्णाली याक्स बिरुद्द ३ विकेटको जित हासिल गरेको थियो ।













