एनपीएल : चम्किँदै जनकपुर, पोखरालाई ७ विकेटले पाखा लगाउँदै लगातार तेस्रो जित

काठमाडौं । पहिलो संस्करणको नेपाल प्रीमियर लिग एनपीएलमा जनकपुर बोल्ट्सले लगातार तेस्रो जित हात पारेको छ । बिहीबार बिहान भएको खेलमा पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गर्दै तेस्रो जीत निकालेको हो ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा १ सय ३९ रनको विजयी लक्ष्य पछ्याएको जनकपुरले १७ ओभर १ बलमा पूरा गर्‍यो। उसका लागि जिम्मी निशम ४० र हर्ष ठाकर १३ रनमा अविजित रहे । आसिफ शेखले ३३ र लाहिरु मालिन्थाले ४५ रनको योगदान दिए ।

बलिङतर्फ पोखराका विपीन खत्री, माइकल लिस्क र कप्तान कुशल भुर्तेलले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३८ रन बनाएको थियो । पोखराका लागि माकर्स क्रिच्लेले ३५ रन बनाए । एन्ड्रिज गोउसले २० तथा दिनेश खरेलले १० रन बनाए ।

जनकपुरका ललित राजवंशीले ३ विकेट हात पारे । जिम्मी निशमले २ तथा किशोर महतो र मोहम्मद मोसिनले समान १ विकेट लिए ।

Share