घोडाघोडीमा ‘घोरीघोरा लवाङ्गी पूजा तथा थारु सांस्कृतिक महोत्सव २०८१’ को शुभारम्भ

कैलाली । कैलालीको घोडाघोडीमा ‘घोरीघोरा लवाङ्गी पूजा तथा थारु सांस्कृतिक महोत्सव-२०८१’ को उद्घाटन गरिएको छ ।

जिल्लाको घोडाघोडी नगरपालिका-१ मा अवस्थित घोडाघोडी मन्दिर परिसरमा आज “हमार संस्कृति हमार पहिचान,संस्कृति जगेर्ना करना हमार अभियान” भन्ने मूल नाराका साथ कार्यक्रमको शुभारम्भ गरिएको हो ।

कार्यक्रमको उद्घाटन बुधवार सुदूरपश्चिम प्रदेशका उद्योग,वन वातावरण तथा पर्यटन मन्त्री लक्ष्मण किशोर चौधरीले गरेका हुन् । कार्यक्रममा प्रदेश सरकारका आर्थिक मामिला मन्त्रालयका राज्य मन्त्री प्रकाश बहादुर बम, कैलाली-३ प्रदेशसभा (२) का सांसद खुसीराम डगौरा, घोडाघोडी नगरपालिकाका उप-प्रमुख गुलिया कुमारी चौधरी, जनप्रतिनिधि, राजनीतिक दलका नेतालगायत विभिन्न व्यक्तिको सहभागिता रहेको थियो ।

घोडाघोडी नगर भल्मन्सा कार्य समिति, घोडाघोडी सन्त समागम समाज र घोडाघोडी तथा संस्कृति संरक्षण समाजको संयुक्त आयोजनामा महोत्सव सरू भएको हो । उक्त महोत्सव यही मङ्सिर २१ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

महोत्सवमा तालको पर्यटकीय क्षेत्रमा उन्नति, थारु परम्परा, कला, संस्कृति प्रवर्द्धन, सांस्कृतिक जगेर्ना र धार्मिक क्षेत्रमा टेवा पुग्ने उद्देश्यका साथ महोत्सव सुरु भएको हो । कार्यक्रममा लवाङ्गी पूजा तथा घोरीघोरा महोत्सवमा विशेष गरी थारु समुदायको पुरानो गुरुबाहरूद्वारा नाचिने बडका नाच, महिलाद्वारा सामूहिक नाचिने सखिया नाच, लाठी नाच, झुम्रा नाच, दिन नचुवा नाच, धमार, मांगरका साथै थारु समुदायको स्थानीय प्रतिभाको संरक्षण संवर्द्धनका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो समुदायको पहिचानलाई चिनाउनका लागि विभिन्न प्रस्तुति प्रस्तुत गरिएको थियो ।

महोत्सवमा थारु संस्कृतिका व्यावसायिक सामग्रीको प्रदर्शनी, स्थानीय गाउँ-गाउँको झाँकी प्रदर्शनी, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति, थारु जनजाति तथा आदिवासी समुदायको रहनसहन भेषभुषाका साथै विभिन्न थारु नाचको प्रस्तुति रहने घोडाघोडी नगर भल्मन्सा कार्य समितिले जनाएको छ । थारु समुदायले घोडाघोडीमा लवाङ्गी पूजा परापूर्व कालदेखि गर्दै आएको बताइन्छ । अन्नबाली घर भित्र्याइसकेपछि त्यो अन्नबाली देउतालाई चढाउनुपर्ने मान्यतासहित यहाँ लवाङ्गी पूजा मनाइने गरिन्छ ।

पछिल्लो एक दशकदेखि यहाँ महोत्सव समेत आयोजना हुदै आएकाे छ । यहाँ कैलाली, कञ्चनपुर, दाङबाट पनि ठुलो सङ्ख्यामा भक्तजनहरू आउने गर्दछन् । घोडाघोडी नगर भल्मल्सा कार्य समितिका अध्यक्ष बुधराम चौधरीको अध्यक्षतामा भएको महोत्सव उद्घाटन कार्यक्रममा घोडाघोडी नगरपालिका, बर्दगोरिया गाउँपालिकाका ८२ गाउँका भल्मन्सा तथा स्थानीयहरूको सहभागिता रहेको थियो ।

Share