एनपीएल : लोकेश बम चम्किँदा विराटनगरको पहिलो जित, हाल सम्मकै उच्च योगफल चेस

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किङ्गले पहिलो जित दर्ता गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार भएको प्रतिस्पर्धात्मक खेलमा विराटनगर किङ्गले लुम्बिनी लायन्स बिरुद्द २ विकेटको रोमाञ्चक जित हात पारेको हो । जित निकाल्ने क्रममा विराटनगरले जारी एनपीएलमा हालसम्मकै उच्च योगफल चेस गरेको हो ।

लुम्बिनीले दिएको १ सय ९२ रनको लक्ष्य विराटनगरले १९ ओभर ५ बलमा ८ विकेटको क्षतिमा पूरा गर्यो ।

विराटनगरका लागि विकेट किपर तथा ओपनर ब्याट्सम्यान लोकेश बमले अर्धशतकीय पारी खेले । बमले ४७ बलमा ६ छक्का ३ चौकाको मद्दतमा ७१ रन बनाए । यस्तै बसिर अहमदले ४० रनको योगदान दिए । मार्टिन गप्टिलले २८ रन बनाएर पेभोलियन फर्किंदा अन्य खेलाडीले दोहोरो अङ्कमा समेत रन जोड्न सकेनन् ।

विराटनगरका लागि रामोन सिमन्ड्स, साद बिन जफर र दुर्गेश थापाले समान २ विकेट हात पारे ।

यसअघि लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ९१ रनको योगफल खडा गरेको थियो ।

लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेलले ४ चौका र २ छक्का प्रहार गर्दै ४६ रन बनाए । टम मुर्सले ३०, अर्जुन साउद १७, आशुतोष घिरैया १५ र सन्दीप जोरा १२ रनमा पेभिलियन फर्किए ।

विराटनगरका लागि इस्मत आलम, सन्दीप लामिछाने र राजेश पुलामीले १-१ विकेट लिए ।

विराटनगर पहिलो खेलमा जनकपुर बोल्टस र दोस्रोमा सुदूरपश्चिमसँग पराजित भएको थियो ।

यस्तै आज नै भएको पहिलो खेलमा काठमाडौं गुर्खाजले पहिलो जित दर्ता गरेको छ । उसले कर्णाली याक्स बिरुद्द ३ विकेटको जित दर्तासँगै जारी एनपीएलमा पहिलो जित निकालेको हो। काठमाडौं यसअघि आफ्नो पहिलो खेलमा चितवन राइनोजसँग ५ विकेटले पराजित भएको थियो ।

Share