एनपीएल: चितवन राइनोजको लगातार दोस्रो जित, पोखराको दुःखद सुरुवात

काठमाडौं । नेपाल प्रीमियर लिग (एनपीएल) मा आज भएको दोस्रो खेलमा चितवन राइनोजले जित हात पारेको छ । एनपीएलमा लगातार दोश्रो जित हात पार्ने क्रममा चितवनले पोखरा एभेन्जर्सलाई ८७ रनले पराजित गरेको हो । प्रतियोगितामा पहिलो खेल खेलेको पोखरा सुरुवातमै फराकिलो अन्तरले पराजित भएको छ ।

चितवनलाई जित दिलाउने क्रममा रवि बोपाराले अर्धशतक तथा बलिङमा सोहेल तनविर र रिजन ढकालले उत्कृष्ट बलिङ गरे । बलिङमा तनविर, रिजन र लुक बेन्केन्सटेइनले समान ३ विकेट लिएपछि १ सय ६२ रनको लक्ष्य पछ्याएको पोखरा १३.२ ओभरमा ७४ रनमा समेटिन पुग्यो ।

पोखराका लागि लोअर अर्डरमा आएका नारायण जोशीले सर्वाधिक ३० रन बनाउनु बाहेक अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । जोशीले २४ बल खेल्दै ३ चौका र २ छक्का प्रहार गरे । म्याट क्रिटलेले १७ रन जोडे ।

पोखरालाई सस्तैमा समेट्ने क्रममा गर्न तनविरले ३ ओभरमा १ ओभर मेडन राख्दै ६ रन मात्र खर्चेर ३ विकेट हात पारे ।

रिजनले पनि ३ ओभरमा १ मेडन राख्नदै १० रन खर्चेर ३ विकेट लिए । लुकले ४ ओभरमा ३७ रन खर्चेर ३ विकेट लिए । दिपक बोहराले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले रवि बोपारको अर्धशतकको मद्दतमा ७ विकेट गुमाएर १ सय ६१ रन बनाएको थियो ।

बोपाराको ३८ बल खेल्दै ३ चौका र ३ छक्का प्रहार गर्दै ५१ रनको अर्धशतकीय पारी खेले । यस्तै कप्तान कुशल मल्लले २३ बल खेल्दै १ चौका र ४ छक्का मदतमा ३८ रन बनाए ।

लुक बेन्केन्सटेइनले १६ र हसन इसाखिलले १४ रन बनाए । शरद भेषावकर ११ रनमा अविजित रहे ।

Share