एनपीएल : जनकपुरको लगातार दोस्रो जित, चितवनको विजयी सुरुवात

काठमाडौं । यहि मंसिर १५ गतेदेखि सुरु भएको पहिलो संस्करणको नेपाल प्रीमियर लिग (एनपीएल) मा सोमबार दुई खेल भए । जस अन्तर्गत पहिलो खेलमा काठमाडौं गुर्खाजलाई ५ विकेटको जित हात पार्दै चितवन राइनोजले विजयी सुरुवात गर्दा उद्धघाटन खेलमा विराटनगर किङ्गलाई पराजित गर्दै विजयी सुरुवात गरेको जनकपुर बोल्ट्सले लगातार दोस्रो जित हात पारेको छ । जनकपुरले कर्णाली याक्सलाई ८ विकेटले पराजित गर्दै दोस्रो जित हात पारेको हो ।

कर्णालीले दिएको १ सय ४२ रनको लक्ष्य जनकपुरले १५ ओभर १ बलमा मात्रै २ विकेट गुमाएर पूरा गर्यो । उसका लागि ओपनर तथा कप्तान अनिल कुमार शाहले अविजित ६२ रनको अर्धशतकीय कप्तानी पारी खेले । उनले ४२ बलमा ६ चौका र ३ छक्का प्रहार गरे । अनिलको यो अर्धशतक प्रतियोगितामा नेपाली ब्याटरले बनाएको पहिलो अर्धशतक हो ।

कप्तान अनिल र अर्का ओपनर आसिफ शेखले पहिलो विकेटका लागि ८४ रनको साझेदारी गरेका थिए । आसिफले २९ बलमा २ चौका र २ छक्काको सहयोगमा ३६ रन बनाए । आसिफ मौषम ढकालको बलमा १० औं ओभरको चौथो बलमा आउट भए । यस्तै लाहिरु मिलन्थाले २४ रन जोडे । जिम्मी निशम १६ रनमा अविजित रहे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४१ रन बनाएको थियो । उसका लागि गुलशन झाले सर्वाधिक ३६ रन जोडे । उनले उनले २७ बलमा १ चौका र ३ छक्का प्रहार गरे । अर्जुन घर्तीले ३३ बनाउँदा कप्तान सोमपाल कामी २९ रनमा अविजित रहे ।

ओपनर शिखर धवनले १४ बलमा ३ चौकाको सहयोगमा १४ रन जोडे । धवन पाँचौ ओभरको दोस्रो बलमा हर्ष थाकरको बलमा बोल्ड आउट भएका थिए ।

कर्णालीको पहिलो विकेटका रुपमा देव खनाल आउट भएका थिए । देव दोस्रो ओभरको दोस्रो बलमा ललित राजवंशीको बलमा बोल्ड आउट भएका थिए ।

लगातार दुई खेलमा जित हात पारेको जनकपुर ४ अङ्कका साथ शीर्ष स्थानमा छ ।
यस्तै आज नै भएको पहिलो खेलमा तीव्र गतिका पाकिस्तानी बलर सोहेल तन्भिरले ५ विकेट लिएपछि एनपीएलमा चितवन राइनोजले विजयी सुरुवात गरेको छ ।

एनपीएलको आफ्नो पहिलो खेलमा सोमवार काठमाडौंले दिएको १ सय १२ रनको सामान्य लक्ष्य चितवनले १७ ओभर १ बलमा ५ विकेट गुमाउँदै पूरा गरेको थियो ।

चितवनका सन्तोष कार्की सर्वाधिक २८ रनमा अविजित रहँदा लुक बेन्केनस्टेइनले २२ रनको योगदान गरे । ओपनर हसन इसाखिलले ७ बलमा १ चौका र १ छक्काको सहयोगमा १२ रन जोडे । कप्तान कुशल मल्ल र रवि बोपाराले समान ११ रन बनाए । शरद भेषवाकर ११ रनमा अविजित रहे ।
काठमाडौंका लागि साहब आलमले ३ तथा डान डाउथवेट र जेर्हाड एरास्मसले समान १ विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ११ रन बनाएको थियो । उसका लागि सुमित महर्जनले सर्वाधिक २९ रन जोडे । त्यस्तै माइकल लेभिटले २५ रन बनाए ।

एनपीएलमा मङ्गलवार सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्गबीच पहिलो तथा पोखरा एभेन्जर्स र चितवन राइनोजबीच दोस्रो खेल हुने खेल तालिका रहेको छ । मङ्गलबार सुदूरपश्चिम र पोखरा प्रतियोगितामा आफ्नो पहिलो खेल खेल्ने छन् ।

Share