रुकुम पूर्व । आइतबार सम्पन्न स्थानीय तहको उपनिर्वाचनमा रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा सत्ता गठबन्धनका उम्मेदवारलाई पाखा लगाउँदै नेकपा माओवादी केन्द्रकी उम्मेदवार नरपुरा बुढा विजयी भएकी छन् । निर्वाचन आयोगका अनुसार उपाध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवार बुढाले ३ हजार ६ सय २७ मत प्राप्त गर्दै विजयी भएकी हुन् ।
उनले आफ्नो निकटतम प्रतिद्धन्दी कांग्रेसकी उम्मेदवार केशकुमारी तुलाचनमाथि १ हजार ४ सय ९९ मतको फराकिलो जित हात पारिन् । पराजित भएकी तुलाचनले २ हजार १ सय २८ मत मात्रै प्राप्त गरिन् । कांग्रेसबाट उम्मेदवार बनेकी तुलाचन एमालेको महिला सङ्गठनकी केन्द्रीय सदस्य समेत हुन् । एमाले र कांग्रेसबीच गठबन्धन भएपछि एमालेकी नेता तुलाचन कांग्रेसको चुनाव चिह्न लिएर उम्मेदवार बनेकी थिइन् ।
माओवादीबाट उपाध्यक्षमा निर्वाचित नरपुरा बुढा गाउँ तहमा रहेका माओवादी केन्द्रमा सक्रियताका साथ काम गरिरहेकी व्यक्ति हुन् ।
पालिकामा कुल ११ हजार १ सय ८० मतदाता रहेकोमा ५ हजार ९ सय ३१ मत खसेकोमा ५ हजार ७ सय ५५ मत सदर हुँदा १ सय ७६ मत बदर भएको थियो । गत भदौ २८ गते बागलुङमा जिप दुर्घटना हुँदा यसअघि माओवादी केन्द्रकै तर्फबाट उम्मेदवार भएका पालिका उपाध्यक्ष भूपेन्द्रा बुढा र २ नं. वडाका अध्यक्ष जसबहादुर सिर्पालीको मृत्यु भएपछि उक्त दुई पद रिक्त भएका थिए । यस पल्टको उपनिर्वाचनमा एमालेका तर्फबाट कांग्रेसको चुनाव चिह्न लिएर केशकुमारी तुलाचनलाई र माओवादी केन्द्रका तर्फबाट नरपुरा बुढालाई उम्मेदवार बनाएको थियो ।
वडाध्यक्ष पदमा भने उम्मेदवारी दिएका एमाले र १ जना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि यसअघि नै माओवादी केन्द्रका जगत घर्ती सर्वसम्मत निर्वाचित भइसकेका छन् ।
०७९ को निर्वाचनमा माओवादी केन्द्रकी बुढा ४ हजार ५९ मतसहित विजयी भएकी थिइन् । त्यस्तै दोस्रो स्थानमा रहेकी कांग्रेसकी कमलाकुमारी मल्लले २ हजार १० मत ल्याएकी थिइन् । त्यस्तै नेकपा एमालेकी उम्मेदवार धर्म घर्ती बुढाले १ हजार ८ सय १२ मत ल्याएकी थिइन् । यस पटक भने माओवादीविरुद्ध सत्तारुढ गठबन्धनका दलहरू कांग्रेस र एमालेले चुनावी तालमेल गरेका थिए । तर पनि पराजय भोगेका छन् ।












