उपनिर्वाचन : सुदूरपश्चिममा माओवादी, रास्वपा र नागरिक शून्य हुँदा कांग्रेसलाई ४ वडाअध्यक्ष, एमालेलाई एक उपाध्यक्ष

उपनिर्वाचन

कैलाली । आइतबार स्थानीय तहको उपनिर्वाचन सम्पन्न भयो । अधिकांस स्थानको अन्तिम मत परिणाम पनि निर्वाचन आयोगले सार्वजनिक गरी सकेको छ । सुदूरपश्चिम प्रदेशमा पनि पाँच पदका लागि उपनिर्वाचन भएको थियो । जसको अन्तिम मत परिणाम पनि सार्वजनिक भइसकेको छ ।

एक उपाध्यक्ष र चार वडाअध्यक्षका लागि भएको उपनिर्वाचनमा माओवादी केन्द्र, नागरिक उन्मुक्ति र राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) को नतिजा भने शून्य आएको छ । कांग्रेस एक्लैले चार वडाअध्यक्ष हात पारेको पार्दा एमालेले भने एउटा उपाध्यक्ष पद मात्र जितेको हात पारेको छ ।

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा एमालेकी सुलोचनाकुमारी भण्डारी विजयी भएकी छन् । भण्डारीले १ हजार ७ सय ४० मत प्राप्त गरी विजयी भएको मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेलले बताएका छन् । उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी पुल्ति सरा शाहीले १ हजार ४ सय ७४ प्राप्त गरेकी छन् । कूल ७ हजार ४ सय ६० मतदातामध्ये ३ हजार ९ सय ३ मत खसेको थियो । निर्वाचित भण्डारी २०७९ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसकी मैनादेवी जोशीसँग पराजित भएकी थिइन् ।

तत्कालीन उपाध्यक्ष जोशीको २०८० माघ ४ गते निधन भएपछि त्यहाँ उपनिर्वाचन भएको हो । यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को अध्यक्षमा नेपाली कांग्रेसका प्रकाश चन्द विजयी भएका छन् । उनी १ हजार १ सय ७ मतसहित अध्यक्ष पदमा निर्वाचिन भएका हुन् । चन्दका निकटतम प्रतिद्वन्द्वी एमालेका बहादुर चन्दले ४ सय ८७ मत प्राप्त गरेका छन् ।

साथै राष्ट्रिय प्रजातन्त्र पार्टीका सुशीलकुमार भट्टले ३ सय ६९, एकीकृत समाजवादीका जितन्द्रबहादुर चन्दले २ सय २५, राष्ट्रिय स्वतन्त्र पार्टीका रामदत्त भट्टले २ सय १८ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार थानेश्वर लेखकले १ सय ४२ मत प्राप्त गर्दा नागरिक उन्मुक्ति पार्टीका हरिष डगौराले १ सय २७, माओवादी केन्द्रका नाराराम कोलीले १ सय २२, स्वतन्त्र उम्मेदवार युवराज चन्दले ९९, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका दिलबहादुर धामीले २४, नेपाल मजदुर किसान पार्टीका दलबहादुर बोहराले १२ र जनमत पार्टीका यादवबहादुर चन्दले ५ मत पाएका छन् ।

यस्तै बझाङको सुर्मा गाउँपालिका–४ को वडाध्यक्षमा नेपाली कांग्रेसै धिरेन्द्र पुजारा विजयी भएका छन् । पुजाराले ६ सय ५७ प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी एमाले उम्मेदवार लठिचन्द्र बोहराले ४ सय ८७ मत प्राप्त गरेका छन् । त्यहाँ माओवादी केन्द्रका उम्मेदवार पुष्कर बोहराले १७ मत पाएका छन् । १ हजार ५ सय ५४ मतदाता रहेको सुर्मा गाउँपालिका–४ मा कुल १ हजार १ सय ७८ मत खसेको थियो । यसअघि सो वडामा एमालले जितेको थियो ।

यस्तै डोटीमा पनि कांग्रेसकै उम्मेदवारले जित हात पारेका छन् । पूर्वीचौकी गाउँपालिका–६ को वडाअध्यक्षमा कांग्रेसका मोहन थापा विजय भएका छन् । उनले ४ सय ६८ मत प्राप्त गरी विजयी भएका हुन् । निर्वाचन कार्यालयका अधिकृत रुद्रमणि गिरीका अनुसार उनका निकटतम प्रतिद्वन्द्वी एमालेका देवबहादुर थापाले ३ सय १ मत प्राप्त गरेका छन् । साथै राष्ट्रिय स्वतन्त्र पार्टीकी जानकीकुमारी खड्का (कुँवर)ले ३१ र माओवादी केन्द्रका देवीलाल थापाले २६ मत प्राप्त गरेका छन् । १३ मत बदर भएको छ । कुल १ हजार ५ सय ९३ मतदाता रहेको सो वडामा ८ सय ३९ मत खसेको थियो ।

यसअघि पनि वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार नै विजयी भएका थिए । उता दार्चुलाको दुहुँ गाउँपालिका–५ को वडाध्यक्ष पदमा पनि नेपाली कांग्रेसका धनबहादुर कुँवर विजयी भएका छन् । कुँवरले ३ सय ७६ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी एमालेका मानसिंह बडालले ३ सय ६३ मत प्राप्त गरेको निर्वाचन अधिकृत पुष्पराज पाण्डेले बताए । माओवादी केन्द्रका वीरसिंह कार्कीले ९८ तथा स्वतन्त्र उम्मेदवार लालसिंह कुँवरले २५ मत प्राप्त गरेको निर्वाचन अधिकृत पाण्डेले बताए ।

१५ मत बदर भएका छन् । कुल १ हजार २ सय ७२ मतदातामध्ये ८ सय ७७ (६९.९४ प्रतिशत) मत खसेको छ । दुहुँ–५ गरमोराको (क) केन्द्रमा २ सय १४ महिला र २ सय २३ पुरुषले मतदान गरेका थिए भने (ख) केन्द्रमा २ सय ६२ महिला र १ सय ७८ पुरुष मतदानमा सहभागी भएको निर्वाचन कार्यालयले जनाएको छ ।

२०७९ मा भएको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष मनोरथ भट्टको २०८० असार ११ गते निधन भएपछि उपनिर्वाचन भएको हो ।

Share