काठमाडौं । सत्तारूढ दल नेकपा एमालेले काठमाडौं महानगरपालिकाले पठाएको जरीवानासहतिको पत्र बुझ्न अस्वीकार गरेको छ ।
आईतबार पार्टीको केन्द्रीय कार्यालय च्यासल पुगेको महानगरपालिकाको टोलीलाई एमाले केन्द्रीय कार्यालयले आफूहरू आयोजक नभएको भन्दै पत्र बुझ्न अस्वीकार गरेको हो ।
गत शुक्रबार दरबारमार्गमा भएको जागरण सभाको आयोजक नेकपा एमाले जिल्ला काठमाडौं, नेकपा एमाले जिल्ला ललितपुर र नेकपा एमाले जिल्ला कमिटी भक्तपुर भएकाले आयोजकहरूलाई नै पत्र बुझाउन एमालेले आग्रह गरेको छ । जागरण सभामा सडक पेटीमा जथाभावी फोहोर गरेको भन्दै महानगरले एमालेलाई जरिवाना पत्र लेखेको थियो ।
एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले चिठी गलत ठाउँमा आएको बताए । उनले काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले स्टन्टबाजी गरेको भन्दै सामान्य प्रशासनिक कुराहरू बुझेर मात्रै काम अघि बढाउन आग्रह गरे ।
सचिव अधिकारीले एमालेले कार्यक्रम गरेका हरेक ठाउँमा सरसफाइ गरेको दाबी समेत गरेका छन् ।












