काठमाडौं । यही मङ्सिर १५ गतेदेखि सुरु हुन लागेको पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)का लागि टिकट मूल्य निर्धारण गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले सोमबार एक विज्ञप्ति जारी गर्दै टिकट मूल्य सार्वजनिक गरेको हो।
मङ्सिर १५ गते हुने उद्घाटन खेलका लागि सामान्यतर्फ ३ सय र भीआईपीतर्फ टिकटको मूल्य ७ सय राखिएको क्यानले जनाएको छ । त्यस्तै लिग चरणका अन्य खेलका लागि सामान्यतर्फ ३ सय र भीआईपीतर्फ ५ सय मूल्य तय गरिएको छ ।
यस्तै एनपीएलका प्लेअफका खेल हेर्ने दर्शकहरूले सामान्यतर्फ ५ सय र भीआईपीतर्फ ७ सयको टिकट काट्नु पर्ने जनाएको छ । त्यस्तै, फाइनल खेलका लागि भने सामान्यतर्फ ५ सय र भीआईपीतर्फ १ हजार टिकटको मूल्य तोकिएको क्यानले जनाएको छ। सिजनल पासको हकमा २० प्रतिशत छुटसहित सामान्यतर्फ ४ हजार ४ सय ८० र भीआईपीतर्फ ८ हजार २ सय ४० मूल्य निर्धारण गरिएको छ।












