कञ्चनपुर । कञ्चनपुरको भीमदत्तबाट भरुवा बन्दुकसहित २ जना पक्राउ परेका छन् ।
भीमदत्त-९ टुडिखेल बस्ने ५३ वर्षीय गगन तरामी र ५५ वर्षीय प्रेमबहादुर धामी पक्राउ परेका प्रहरीले जनाएको छ । दुबै जनालाई २ नाल भरूवा बन्दुक, २ प्याकेट बारुद, बन्दुकको सिसा ३८ टुक्रा, फलाम २७ टुक्रा, बन्दुकको क्याप १२ वटा र खुकुरी २ थानसहित फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएका हो ।
इलाका प्रहरी कार्यालय ब्रहमदेव र सशस्त्र प्रहरी बल बिओपी खल्लाबाट खटिएको संयुक्त गस्ति टोलीले भीमदत्त नगरपालिका–९ कालीगाडा खोलाबाट दुबै जनालाई पक्राउ गरेको जनाएको छ । हतियारधारीको समूह १० जनाको रहे पनि दुई जनालाई मात्र पक्राउ गर्न सकेको प्रहरीले बताएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।













