कैलाली । नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाको ३९ औं जिल्ला स्तरीय जुनियर तथा युवा रेडक्रस दुई दिने गोष्ठी सम्पन्न भएको छ । कैलालीको घोडाघोडी-१ मा अवस्थित घोडाघोडी सामुदायिक माध्यमिक विद्यालयको जुनियर रेडक्रस सर्कलको आयोजनामा शुक्रबारदेखि दुई दिने गोष्ठी सुरु भएको थियो । उक्त गोष्ठीमा जिल्ला भरिका १ सय ३९ विद्यालयका विद्यार्थीहरू सहभागी भएका थिए । जसमा प्रत्यक्ष विद्यालयबाट २ जना रेडक्रसमा आबद्ध विद्यार्थी र एक जना शिक्षक गरी तीन जना सहभागी भएका आयोजकले जनाएको थियो ।
शुक्रबार पहिलो दिन औपचारिक रूपमा कार्यक्रमको उद्घाटन गरिएको थियो । कार्यक्रममा सहभागीहरूलाई आपतकालीन अवस्थामा रेडक्रसले कसरी काम गर्छ ? कसरी राहत प्रदान गर्ने, रेडक्रसले के के गर्छ लगायतका विषयमा विद्यार्थी र सहभागि शिक्षकहरू बीच छलफल भएको थियो ।
नेपाल रेडक्रस सोसाइटी कैलालीका सदस्य एवम् जुनियर तथा युवा रेडक्रस कैलालीको संयोजक रङ्ग प्रसाद तिमिल्सिनाको सभापतित्वमा सुरु भएको समुद्घाटन कार्यक्रमको प्रमुख अतिथिमा सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्का रहेका थिए । केन्द्रीय रेडक्रस सोसाइटीका पदाधिकारी, जिल्ला रेडक्रस सोसाइटीका पदाधिकारी, नगरपालिका प्रमुख, उपप्रमुख, अन्य जनप्रतिनिधि, प्राध्यापक, शिक्षक विद्यार्थीहरूको उपस्थितिमा कार्यक्रमको औपचारिक रुपमा मन्त्री खड्काले उद्घाटन गरेका थिए ।
कार्यक्रममा बोल्दै घोडाघोडी नगरपालिका नगर प्रमुख खडक बहादुर रावतले आजको चुनौती विपद् व्यवस्थापन र जलवायु परिवर्तनको रहेको बताएका थिए । पछिल्लो समयमा मानवीय क्रियाकलापले गर्दा पनि यस्ता किसिमका समस्या उत्पन्न भएको र जसलाई व्यवस्थापन गर्न निकै चुनौती रहेको बताए ।
यस्तै सामाजिक विकास मन्त्री मेघराज खड्काले कार्यक्रममा बोल्दै विद्यार्थीहरू समाज सेवामा, सामाजिक क्षेत्रमा, विपद् व्यवस्थापनमा रेडक्रस सोसाइटी जस्तो संस्थामा आबद्ध भएर अघि बढेको प्रति कृतज्ञता प्रकट व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन घाेडाघाेडी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख चेतराज विनाडीले गरेका थिए ।













