बैतडी । बैतडी जिल्लाको डिलासैनी गाउँपालिका-४, मा घर माथिबाट पहिरो खस्दा एक घरमा पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।
गएराति १२ बजेको समयमा घरमाथिबाट आएको पहिरोमा परि डिलासैनी-४, जोखल्लीका सुरेन्द्र रोकायाको घर पुरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिए ।
पहिलादेखि घर पहिरोको जोखिममा रहेको र वर्षा सुरु हुने बित्तिकै घरपरिवार र गाईबस्तु आफन्तको घरमा सारी सकेकाले मानवीय तथा पशुचौपायामा भने क्षति नभएको पनि प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रोकायाको परिवार अहिले आफन्त पदमबहादुर रोकायाको घरमा बसिरहेको छ । दुईतले कच्ची घर पहिरोले पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।
पहिरोले घर पुरिएपछि घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाँडाकुँडा सबै नष्ट भएका बताइएको छ । पहिरोले घर पुरिएको जानकारी आएपछि घटनास्थलतर्फ प्रहरी टोली खटिएको र क्षतिको थप विवरण आउन बाँकी रहेको बताए ।













