काठमाडौं । साफ यू-२० च्याम्पियनसिप फुटबलको दोस्रो सेमिफाइनल खेलमा साविक विजेता भारतलाई पराजित गर्दै बङ्गलादेश फाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा पेनाल्टी सुटआउट मार्फत ४-३ गोल अन्तरले पाखा लगाउँदै बङ्गलादेशले उपाधि भिडन्तका लागि नेपालसँगको भेट पक्का गरेको हो ।
साविक विजेता भारतको भने फाइनल प्रवेशमा बङ्गलादेशले पूर्ण विराम लगाई दिएको छ । आज सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दोस्रो सेमिफाइनलको निर्धारित ९० मिनेटको खेल १-१ गोलको बराबरीमा सकिएपछि फाइनल प्रवेश गर्ने टोलीको टुङ्गो टाइब्रेकरबाट भएको थियो । जसमा बङ्गलादेश बलियो टोली भारतलाई पाखा लगाउँदै बाजी मारेको हो ।
बङ्गलादेशका गोलकिपरले भारतका २ खेलाडीको पेनाल्टी रोक्दै टोलीलाई अन्तिम दुईमा पुर्याउन सफल रहे । पहिलो हाफमा लिएको अग्रतालाई जोगाउन नसक्दा बङ्गलादेशले नतिजाको लागि भने पेनाल्टी सुटआउटसम्म कुर्नु परेको थियो ।
दोस्रो हाफमा गोल गर्दै खेलमा फर्के पनि पेनाल्टी सुटआउटमा दुई खेलाडी असफल भएपछि भारतको उपाधि यात्रामा पूर्ण विराम लागेको हो ।
अब उपाधि भिडन्तमा बुधवार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा घरेलु टोली नेपाल र बङ्गलादेश भिड्ने भएका छन् ।













