कैलालीको घोडाघोडीमा छुट्टा छुट्टै सवारी दुर्घटनामा परी चार जना घाइते 

कैलाली । कैलालीको घोडाघोडीमा सोमबार भएका दुई ओटा सवारी दुर्घटनामा परी चार जना घाइते भएका छन् ।

सोमबार बिहान जिल्लाको घोडाघोडी नगरपालिका-१० पहलमानपुरदेखि सिसैयातर्फ जाँदै गरेको अटोले ठक्कर दिँदा २ जना बालबालिका घाइते भएका छन् भने अटो चालक पनि घाइते भएका छन् । बालिकाले बीच सडकबाट बाटो क्रस गर्न खोज्दा उनलाई बचाउने क्रममा अटो अनकन्ट्रोल हुँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय सुखडले जानकारी दिएको छ  ।

प्रहरीका अनुसार सु.प.प्र ०१–००१ ह ३२१४ नम्बरको अटो अनकन्ट्रोल हुँदा अटो चालक शङ्कर ढाँट सहित १३ वर्षीय अनुष्का नेपाली ६ वर्षीय उनकै भाइ प्रेम नेपाली घाइते भएका हुन् ।

घाइते तिनै जनालाई उपचारका लागि घोडाघोडी अस्पताल सुखडमा ल्याइएको भएनि अनुष्का नेपालीलाई निसर्ग अस्पताल धनगढीमा सिटी स्क्यानका लागि लगिएको प्रहरीको भनाई छ  । हाल चालक ढाँट र प्रेमको भने घोडाघोडीमै उपचार भैरहेको छ । उनीहरूको अवस्था धेरै जटिल नरहेको प्रहरीले बताएको छ ।

यस्तै सोमबार दिउँसो नै हाइसले घोडाघोडी–१० आमखोयामा एक बालिकालाई ठक्कर दिँदा घाइते भएकी छन् । पश्चिमबाट पूर्वतर्फ गइरहेको सुप प्र ०१००१ ख ३५८४ नम्बरको हाइसले ठक्कर दिँदा वर्ष  ७ कि कल्पना खाती घाइते भएकी प्रहरीले जानकारी दिएको छ । हाल घाइते बालिकाको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ ।

Share