काठमाडौं । गोल किपर जियरत शेखको नायकी प्रदर्शनमा घरेलु टोली नेपाल साफ यू-२० च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । आइतबार भएको सेमिफाइनल खेलमा नेपालले भुटानलाई टाइब्रेकरमा ४-१ गोलले पाखा लगाएको हो ।
घरेलु मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा गोलकिपर जियारेथ शेखले आफ्नो शानदार प्रदर्शन देखाए । शेखले पेनाल्टी सुट आउटमा लगातार दोस्रो र तेस्रो प्रहार रोक्दै नेपाललाई जित दिलाएका थिए । विपक्षीको लगातार दुई प्रहार रोकेका उनले नेपालको चौथो प्रहार आफैँले गर्दै गोल समेत गरेका थिए । गोलकिपर शेखले गोल गर्नु अघि पेनाल्टीमा नेपालका लागि राम थापा, अविनाश स्याङतान र सिमान्त थापाले लगातार गोल गरेका थिए ।
पेनाल्टीमा भुटानका जोत्सिन दोर्जीले पहिलो गोल प्रहार गर्दा त्यसपछि जिग्मे नाम्गेल र उर्गेन दोर्जीले गरेको प्रहार भने नेपालका गोलकिपर शेखले विफल पारिदिए ।
निर्धारित ९० मिनेटको खेल १-१ गोलको बराबरीमा सकिएपछि फाइनल पुग्ने टोलीको छिनोफानो भने पेनाल्टी सुट आउटबाट भएको थियो । आइतबार एन्फा कम्प्लेक्समा भएको खेलमा सुरुवाती अग्रता लिएको भुटानले त्यसपछि भने गोल गर्न सकेन ।
भुटानका जेत्सुएन दोर्जेले खेलको ५५ औँ मिनेटमा गोल गरेका थिए । उनले डी बक्सबाहिरबाट फस्ट बार च्यापेर गरेको प्रहार गोल भएको थियो । तर खेलको ७८ औँ मिनेटमा नेपालका निराजन धामीले गोल गर्दै खेल बराबरीमा पुर्याए । उनले एयर बलमा डीबक्सभित्रबाट हेडमार्फत गोल गरेका थिए ।
जितसँगै साफ यू-२० च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेको नेपाल अब उपाधिका लागि भारत र बङ्गलादेशबीचको विजेता टोलीसँग बुधबार दशरथ रङ्गशालामा प्रतिस्पर्धा गर्नेछ ।













