तनहुँ । शुक्रबार बिहान तनहुँमा भारतीय नम्बर प्लेटको बस दुर्घटना हुँदा १४ जनाकाे शव घटनास्थलबाट निकालिएकाे जनाएको छ ।
घटनास्थलबाट १४ जनाकाे शवसँगै १६ जना घाइतेलाई उद्धार गरी उपचारका लागि स्थानीय अस्पतालमा पठाइएकाे सशस्त्र प्रहरीले जनाएकाे छ । अहिले घटनास्थलमा उद्धार कार्य चलिरहेकाे छ ।
उद्धार कार्यमा गोताखोरसहितको टोली खटिएको छ । प्रहरी, सशस्त्र प्रहरीसहित स्थानीय बासिन्दा उद्धारमा खटिएका छन् । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ११ जना गोताखोरसहित ४५ जना र नम्बर–२३ मनकामना गणबाट ३५ जनाको फौज खटिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले सञ्चार माध्यमलाई जानकारी दिएका छन् । उनका अनुसार अप्ठेराे ठाउँ भएकाले तुइन रोप अर्थात् डोरीको प्रयोग गरी उद्धारकाे काम भइरहेको छ । घाइतेहरूलाई सडकसम्म ल्याउन डोरीमा बास्केट स्ट्रेचरकाे प्रयोग गरिएको छ ।
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी नजिकै पोखराबाट काठमाडौंका लागि छुटेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खसेको तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए । आँबुखैरेनी गाउँपालिका–२ ऐनापहराबाट मर्स्याङ्दी नदीमा खसेको बस नदी किनारमा रहेको छ । बसमा ४० जना रहेको प्रारम्भिक विवरण छ ।
दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।













