साफ यु-२० च्याम्पियनसिप : बङ्गलादेशलाई २-१ ले पाखा लगाउँदै नेपाल समूह विजेताको रुपमा सेमिफाइनल प्रवेश 

तस्बिर : अनलाइन खबर

काठमाडौं । साफ यु-२० च्याम्पियनसिप फुटबल अन्तर्गत समूह ‘ए` को अन्तिम खेलमा बङ्गलादेशलाई २-१ गोल अन्तरले पाखा लगाउँदै घरेलु टोली नेपाल समूह विजेता बनेको छ । नेपालका लागि समिर तामाङ र निराजन धामीले गोल गरेका थिए ।

नेपाल र बङ्गलादेश दुवै टोली यसअघि नै सेमिफाइनल प्रवेश गरिसकेका छन् । यो खेल समूह विजेताका लागि थियो । जहाँ घरेलु टोली नेपालले बाजी मार्यो 

नेपाल समूह ए मा दुई खेल जित्दै ६ अङ्क जोडेर समूह विजेता बन्दा बङ्गलादेश ३ अङ्कसहित समूह उपविजेता बन्यो । श्रीलङ्का भने दुवै खेल हारेर यसअघि नै समूह चरणबाट बाहिरिसकेको छ । नेपालको सेमिफाइनल प्रतिस्पर्धी शुक्रबार हुने समूह बी को अन्तिम भारत र माल्दिभ्सबीचको खेलपछि टुङ्गो लाग्नेछ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा नेपालले खेल सुरु भएको २० मिनेटभित्रै दुई गोल गरेको थियो । तर, बङ्गलादेशले पहिलो हाफमै पेनाल्टीमा एक गोल फर्कायो । नेपालका लागि १७ मिनेटमा समिर तामाङले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए ।

बङ्गलादेशका गोलकिपर मेहदी हसन स्राबोन अघि बढेको अवस्थामा समिरले बल खोस्दै खाली पोष्टमा गोल गरे । १८ औं मिनेटमा निराजन धामीले गोल गर्दै नेपालको अग्रता दोब्बर गरे । उनले अविनाश स्याङ्गतानको क्रसमा वान टचमा गोल गरेका थिए । जारी च्याम्पियनसिपमा निराजनको यो दोस्रो गोल हो । उनले श्रीलङ्काविरुद्ध पहिलो खेलमा पनि गोल गरेका थिए ।

३६ औं मिनेटमा निराजन धामीको फ्रि हेडर पोष्ट नजिकबाट बाहिर जाँदा नेपालले अग्रता बढाउने असर गुमाएको थियो । ४३ औ मिनेटमा बङ्गलादेशले पेनाल्टीमा गोल फर्कायो । नेपालका राम थापाले बङ्गलादेशका मिराजुल इस्लामलाई पेनाल्टी बक्समा फल गरेपछि बङ्गलादेशले पेनाल्टी पाएको थियो । त्यसमा ईस्लामले गोल गर्दै गोल अन्तर कम पारे ।

दोस्रो हाफमा भने दुवै टोलीले खासै अवसर बनाउन सकेनन् । ५० औं मिनेटमा नेपालका निराजन धामीको प्रहार बङ्गलादेशी गोलकिपरले उत्कृष्ट बचाउ गरेका थिए ।

Share