कैलाली । कैलाली जिल्लाका विभिन्न स्थानमा दुई दिनदेखि अबिरल रूपमा परी रहेको वर्षाले जनजीवन कष्टकर बन्दै गएको छ । वर्षापछि आएको बाढी हालसम्म घट्न सकेको छैन् । अविरल परिरहेको वर्षाले जिल्लाका विभिन्न स्थानका खोला, नाला, नदीमा पानीको सतह बढेपछि गाउँ बस्ती नै डुबानमा परेका छन् ।
बाढीले कैलालीका कैलारी गाउँपालिका, भजनी नगरपालिका र गौरीगङ्गा नगरपालिकाका अधिकांश क्षेत्र डुबानमा परेको छन्।
गएराति तीन घण्टासम्म पनि कैलालीको विभिन्न स्थानमा भारी वर्षा भएपछि जनजीवन थप कष्टकर बनेको प्रहरीले जनाएको छ । डुबान प्रभावित क्षेत्रका स्थानीयमा रातभर बिचल्लीमा परेका छन् । घरभित्र बाढी पसेपछि स्थानीय जाग्राम बस्न बाध्य भएका छन् । कोही नजिकको स्कुल, वडा कार्यालयहरूमा त कोही आफन्तको घरमा बस्न बाध्य भएका जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिएका छन् ।
सूचना अधिकारी जोशीका अनुसार हालसम्म जिल्लामा ५ सय भन्दा बढी घर बाढीको डुबानमा परेका छन् भने १७ सय भन्दा बढी नागरिक प्रभावित भएका छन् ।
जिल्लाको भजनी नगरपालिकामा सबैभन्दा बढी ४ सय बढी घर डुबानमा परेको जोशीले जानकारी दिए । सो पालिकाको वडा नं. ५ का डुबान प्रभावित केही परिवारलाई वडा कार्यालयमा सारिएको जनाइएको छ ।
यसैबिच बुधबार कैलारी गाउँपालिका ५ बैजपुरमा घरमा पानी पसेपछि निस्कने क्रममा ४२ वर्षीय लोकमाया चौधरीलाई बाढी बगाएको थियो । उनको उद्धारपछि धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ ।
बाढीको जोखिम अझै बढ्न सक्ने भन्दै जोखिम क्षेत्रमा रहेको स्थानीयहरूलाई सुरक्षित ठाउँमा सर्न जिल्ला प्रशासन कार्यालयले आग्रह समेत गरेको छ । अहिले स्थानीय पालिका, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा उद्धार कार्य समेत जारी रहेको सूचना अधिकारी जोशीले जानकारी दिए ।












