भारी वर्षाले कैलालीमा पुरानै रोग दोहोरिँदै, विभिन्न ठाउँमा गरि सयौँ घर डुबानमा

फाइल तस्बिर

कैलाली । वर्षायाम सुरु भएदेखि कैलाली जिल्लाका विभिन्न ठाउँका स्थानीयको राति निन्द्रा हराम हुन्छ । कुन बेला पानी परेर बस्ती डुबानमा पर्ने हो भन्ने उनीहरूलाई जहिले पिर पर्छ । कतिपय डुबानका वेला आफ्नै घरको माथिल्लो तलमा बस्न बाध्य हुन्छन् भने कयौँले त घर नै छोडेर अन्यत्र बास खोज्नु पर्ने स्थिति सिर्जना हुने गर्दछ । 

सधैँ वर्षायाम सुरु भएपछि राति आनन्दले निदाउन नपाउने स्थानीयको रोग यस पटक पनि बल्झिएको छ । सोमबारदेखि लगातार जसो रुपमा परिहेको पानीले गर्दा जिल्लाका विभिन्न पालिकाका वस्तीहरू डुबानमा परेका छन् । कतिपय घर नै छोडेर अन्यत्र अस्थायी बास बसी रहेका छन् भने कतिपय माथिल्लो तलमा नै बस्न बाध्य भएका छन् । विशेष गरेर यस पटक जिल्लाका कैलारी गाउँपालिका, भजनी नगरपालिका, गौरीगङ्गा नगरपालिका र घोडाघोडी नगरपालिकाका केही बस्ती डुबानमा परेको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

लगातारको वर्षाका कारण कटैनी नदीमा आएको बाढीले कैलारी गाउँपालिकामा ७२ घर डुबानमा परेका छन् । गाउँपालिकाको कार्यालयले दिएको जानकारी अनुसार वडा नं. ५ स्थित मनिकापुरमा ३६ घर, वडा नं. ७ स्थित छटकपुर बसन्तामा २५ घर र वडा नं. ८ स्थित भङ्गाहामा ११ घर डुबानमा परेका छन् । डुबान भएको गाउँमा उद्धारका लागि सुरक्षाकर्मी, रेडक्रसका प्रतिनिधि, जनप्रतिनिधि लगायतका व्यक्ति खटेका जनाइएको छ ।

त्यस्तै, कान्द्रा नदीमा आएको बाढीले जिल्लाकै भजनी नगरपालिकाका विभिन्न क्षेत्रहरू डुबानमा परेका छन् । जहाँ वडा नं. ७, ९ का वस्तीहरू डुबान परेका छन् । हुलाकी राजमार्ग आसपासका वस्तीहरू डुबानमा पर्दा हुलाकी सडकमा बस्नु पर्ने स्थिति समेत सिर्जना भएको जनाइएको छ ।

यस्तै गौरीगङ्गा नगरपालिकाका वडा नं. ७, ९ स्थित महादेवा, भगवानपुर, शङ्करपुर गाउँका गरी २२ घर डुबानमा परेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । जिल्लाको घोडाघोडी नगरपालिका-५ सेउकलिया, वडा नम्बर ९ रत्तीपुर क्षेत्रका पनि दर्जनौँ घर डुबानमा परेका बताइएको छ ।
वर्षाका कारण पानीको वहाव बढ्दै गएपछि हुलाकी सडक खण्ड पनि भत्किएको छ । कैलारी गाउँपालिका-५ पुरानो मनिकापुरस्थित हुलाकी सडक खण्डमा पानीको वहाव बढेपछि सडकको केही भाग भत्किएपछि सडक पूर्ण रुपमा अवरुद्ध भएको हो । पानीको सतह सडकमाथि पुगेपछि सडक पूर्ण रुपमा अवरुद्ध भएको जनाइएको छ ।