बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु 

बझाङ । बझाङ जिल्लाकाे बुङ्गल नगरपालिका-१० स्थित टुमेडामा गएराती घर माथिबाट पहिरो जाँदा एकै परिवारका चार जना सदस्यको ज्यान गएको छ । पहिरोमा परी बेपत्ता भएका चारै जनाको सोमबार बिहान शव फेला परेको छ।

गएराति १ बजे तिर एक्कासी घरमाथिबाट पहिरो जाँदा घर भत्किएर थियो । उक्त पहिरोमा घर भत्किँदा ५५ वर्षकी काली धामी, २५ वर्षकी गोल्की धामी, ६ वर्षकी आकृति धामी र ३ वर्षिय लक्ष्मी धामीकाे मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक डिल्लीराज विष्टले जानकारी दिएका छन् ।

मृतककाे शव अहिले घटनास्थलमै रहेको र जिल्ला प्रहरी कार्यालय बझाङको टोलीले पोष्टमार्टमका लागि शव पठाउने तयारी गरेको बताएकाे छ।

पहिरो जानेबित्तिकै राति नै गाउँलेको प्रयासले घरमुली ६२ वीरबहादुर धामी, १६ वर्षीया कमला धामी, ३० वर्षीय उज्जवल धामी, १० वर्षीय रोशन धामी, २० वर्षीय शान्ती धामी र पाहुना सोही नगरपालिका-९ बस्ने वर्ष ७१ को अम्बादत्त जोशीको सकुशल उद्धार गरिएको पनि प्रहरीले जानकारी दिएको छ ।

पहिरोले घर पूर्ण रुपमा बगाएको छ। उक्त घरमा रहेका ५ वटा बाख्रा पनि बगाएको प्रहरीले जनाएको छ। सदरमुकाम चैनपुरमा नेपाल टेलिकमको कुनै सेवा नहुँदा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई सम्पर्क हुन सकेको छैन।

Share