कैलाली । कैलालीको घोडाघोडी नगरपालिका-१ सुखड स्थित घोडाघोडी क्रिकेट एकेडेमीले आफ्नो मुख्य प्रशिक्षकमा नवयुग बस्नेतलाई भित्र्याएको छ । नवयुग भारतका विभिन्न एकेडेमीमा पनि प्रशिक्षण गराई रहेका व्यक्ति हुन् । उनी विगत पाँच वर्ष देखि भारतका विभिन्न एकेडेमीमा रहेका छन् । केही समययता देखि सञ्चालनमा रहेको घोडाघोडी क्रिकेट एकेडेमीले ग्रासरुटबाटै राष्ट्रिय टोलीका लागि खेलाडी उत्पादन गर्ने लक्ष्य लिएकाले अनुभवी प्रशिक्षकलाई भित्र्याएको एकेडेमीका सञ्चालक रमेश आचार्यले जानकारी दिए ।
भारतको पुनामा रहेको एक प्रतिष्ठित एकेडेमीमा प्रशिक्षण गराई रहेका नवयुग हाल कैलाली जिल्लाको अण्डर १९ टोलीकाे कप्तान पनि रहेका छन् । भारतमा क्रिकेट सिकेका उनलाई ग्रासरुटकाे एकेडेमीमा ल्याउँदा ठूलो उपलब्धि हुने सञ्चालक बताउँछन् । उनी एकेडेमीमा आउँदा यहाँका स्थानीय बालबालिकाले ठूलो उपलब्धि हाँसिल गर्नेमा आचार्य ढुक्क छन् ।
उनले बेसिक क्रिकेटको लागि आफूहरुले भित्र्याउन लागेको प्रशिक्षक नेपालमै टप लेभलको रहेकाले थप ठूलो उपलब्धि उक्त क्रिकेट एकेडेमीले हात पार्ने लक्ष्य रहेको बताए ।
हाल ३२ जना प्रशिक्षार्थी रहेको घोडाघोडी एकेडेमीबाट १० औं राष्ट्रिय खेलकुदको छनोटका लागि केही खेलाडी जिल्लामा जाने भएका छन् ।

छनोट खेल्न जानेमा समीर खत्री, भुवन ढकाल, नवीन भण्डारी, चेतराज भण्डारी, डम्मर विश्वकर्मा रहेका छन् । यस्तै हाल उक्त एकेडेमीबाटै प्रदेशमा खेली रहेका टेक रावत र दिनेश रावत सहित प्रशिक्षक नवयुग बस्नेत पनि छनोट खेल खेल्ने भएका छन् । टेक रावत, दिनेश रावत र नवयुग बस्नेत हाल प्रदेशबाट पनि खेली रहेका खेलाडी हुन् ।
ग्रासरुटमा देशै भर प्रशिक्षककाे खाँचो पनि रहेको छ त्यसलाई मध्यनजर गर्दै आफूहरु अगाडि बढ्दै गर्दा बालबालिकाको भविष्यलाई उज्वल बनाउन आफूहरु लागि परेको एकेडेमीका सञ्चालक रमेश आचार्यले बताए ।













