कैलाली । कैलाली जिल्लामा मात्रै २२ हजार हेक्टरभन्दा बढी वन क्षेत्र अतिक्रमणको चपेटामा परेको छ ।
सबैभन्दा बढी वन क्षेत्र भएको कैलालीमा अतिक्रमणको समस्या पनि बढ्दै गएको सुदूरपश्चिम प्रदेश वन निर्देशक हेमराज विष्टले जनाएका छन् । अतिक्रमण बढेसँगै नियन्त्रणका प्रयासलाई पनि तीव्रता दिइएको उनको भनाई छ ।
गत आर्थिक वर्षमा मात्रै जिल्लामा ४ सय बढी हेक्टर अतिक्रमित वन क्षेत्र खाली गरिएको डिभिजन वन कार्यालयले जनाएको छ । जिल्लामा दुईवटा डिभिजन वन कार्यालय अन्तर्गत वनको संरक्षण र व्यवस्थापन हुँदै आएको छ । पहलमानपुर डिभिजन वन कार्यालय अन्तर्गतको ४ सय १६ हेक्टर अतिक्रमण क्षेत्र खाली गराइएको कार्यालयका डिभिजनल वन अधिकृत रामबिचारी ठाकुरले जनाएका छन् ।
घोडाघोडी नगरपालिका–२ मोहन्याल सामुदायिक वन, भजनी नगरपालिका-७ मा रहेको पुरैना तालको ३ सय ८१ हेक्टर जमिन खाली गराएर ड्याम निर्माण गरिएको उनले बताए । भजनी नगरपालिका-१ मा रहेको मोहोन्याल, पशुपति र वनदेवी सामुदायिक वन, वडा नम्बर ९ स्थित सयपत्री र लौकाहा भौकाहा सामुदायिक वनमा टहरा बनाइएको र खनजोत गरेको ३३ दशमलव ९ हेक्टर वन क्षेत्र खाली गराइएको ठाकुरले बताएका हुन्।
सो क्षेत्रमा अतिक्रमण हटाएर वृक्षारोपण गरिएको उनले बताएका हुन् । लम्कीचुहा नगरपालिका-१ स्थित जनकल्याण सामुदायिक वनभित्र बनाइएका भौतिक संरचनाहरू पनि भत्काइएको छ । डिभिजन वन कार्यालय कैलाली अन्तर्गत ७३ हेक्टर क्षेत्रफलमा अतिक्रमण हटाइएको डिभिजनल वन अधिकृत रामचन्द्र कँडेलले बताए ।
अतिक्रमण हटाइएको ४३ हेक्टर क्षेत्रफलमा वृक्षारोपण गरि सकिएको छ भने बाँकी क्षेत्रमा समेत वृक्षरोपणको तयारी भइरहेको उनले बताएका हुन् । जिल्लामा विभिन्न बहानामा वन क्षेत्र अतिक्रमण हुने गरेको छ । वन क्षेत्रको भोगाधिकार नलिएर विभिन्न सङ्घसंस्था, स्थानीय पालिका, वडा कार्यालय लगायत सरकारी कार्यालयका भवन, मन्दिर, पार्किङस्थल, अस्थायी बजार वन क्षेत्रमा बनाइने गरेकाले पनि वन क्षेत्र अतिक्रमणमा पर्ने गरेको छ ।
जिल्लाको चुरे क्षेत्र हुँदै भारतको दुधुवा नेसनल पार्कलाई जोड्ने अन्तर्राष्ट्रिय महत्वको वसन्ता जैविक मार्ग समेत अतिक्रमणको उच्च चपेटामा परेको डिभिजनल वन अधिकृत कँडेलले बताएका छन् । सीमावर्ती क्षेत्रमा पर्ने जिल्लाको कैलारी गाउँपालिका र भजनी नगरपालिकाको हुलाकी राजमार्ग आसपासमा पर्ने वसन्ता वन क्षेत्र बर्सेनी बाढी पीडितका साथै विभिन्न बहानामा अतिक्रमणको चपेटामा पर्दै आएको छ ।














